
टिट फर ट्याट गर्न बाध्य नपार्न मुख्यमन्त्री पाण्डेद्वारा माओवादीलाई चेतावनी
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘टिट फर ट्याट’ गर्न आफूहरुलाई बाध्य नपार्न गठबन्धन दल माओवादीलाई चेतावनी दिएका छन् । शुक्रबार गोरखामा आयोजित कांग्रेसको जिल्ला भेलामा बोल्दै पाण्डेले माओवादीका जनप्रतिनिधिबाट कांग्रेसप्रति असह्य व्यवहार भएकोले जस्तालाई तस्तै व्यवहार गर्न आफूहरु बाध्य हुने अबस्था आएको बताए ।
कार्यक्रममा बोल्दै उनले गठबन्धन दल माओवादीलाई नै मूल प्रतिस्पर्धी भनेका छन् । ‘गोरखाको सन्दर्भमा माओवादी हाम्रो मूल प्रतिस्पर्धी हो । उनीहरुले आफ्नो पार्टी निर्माणको क्रममा हाम्रा पार्टीका साथीहरुलाई जस्तो किसिमको व्यवहारहरु गरेका छन्, त्यो सच्याउनु पर्ने आवश्यकता छ’, उनले भने, ‘हामीले चुनावी तालमेल गरेको हो, पार्टी बिलय गरेको होइन । प्रचण्डलाई लगेर पार्टी समर्पण गरेको होइन । जहाँ तपाईहरु विजयी हुनुभएको छ, त्यहाँ त्यस्तै व्यवहार तपाईहरुले गरिरहनु भयो भने म आज यतिमात्रै भन्छु, यो प्रदेशमा अरु ठाउँको नेतृत्व नेपाली कांग्रेसका जनप्रतिनिधिले पनि लिएका छन् । टिट फर ट्याट गर्नु पर्ने अवस्था सिर्जना नगर्नुहोस् । जनप्रतिनिधि भइसकेपछि सबैप्रति जसरी समान व्यवहार गर्नुपर्ने हो, त्यसैगरी सौहार्दपूर्ण रुपमा समान व्यवहार गर्न म माओवादी साथीहरुमा आग्रह गर्न चाहन्छु ।’
माओवादीले कांग्रेसप्रति पुरानै शैली देखाएर मुढेबलका कुरा गर्न थालेमा कांग्रेस चुप लागेर नबस्ने उनले चेतावनी दिए । ‘हिजोका धङ्धङी निकालेर फेरि उही मुड्की र बलका कुरा गर्ने हो भने नेपाली कांग्रेस त्यति कमजोर छैन । तपाईहरुले मारिरहँदा पनि लडिरहेको पार्टी हो, भागिरहेको पार्टी होइन’, उनले भने, ‘त्यसैले म भन्छु, तपाईँहरुले जे मागिरहनु भएको छ, त्यो हामीले दिनुपर्ने अबस्था सिर्जना नहोओस् ।’ गठबन्धनका पार्टी बीच सुमधुर सम्बन्ध नभएर तनाबपूर्ण सम्बन्ध रहेको गुनासो गाउँगाउँबाट आइरहेको उनको भनाइ छ ।
जिल्ला कार्यसमितिका सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न सो जिल्ला भेलामा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु चिनकाजी श्रेष्ठ, अब्दुल सतार, संघीय सांसद राजेन्द्र बजगाई, प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तथा पूर्व सांसद प्रकाशचन्द्र दवाडी, महिला संघ गोरखाका अध्यक्ष मनकुमारी गुरुङ, पार्टीका पूर्व जिल्ला उपसभापति सुकदेव दवाडी, जिल्लाका क्षेत्रीय सभापति गोविन्द गुरुङ र नारायण लामिछानेले मन्तव्य राखेका थिए ।
जिल्लामा सम्मेलनमा राजनीतिक प्रतिवेदन, सांगठिन प्रतिवेदन र आर्थिक प्रतिवेदनमा छलफल गरी अनुमोदन गरिएको पार्टीका जिल्ला सचिव किशोरजंग थापाले बताए ।




