
भारतीय प्रधानमन्त्री विना सूचना नेपाल प्रवेश गर्नु नाङ्गो हस्तक्षेप : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विना सूचना भारतीय प्रधानमन्त्री नेपालको भूमी प्रवेश गर्नु नेपालमाथिको नाङ्गो हस्तक्षप भएको बताएका छन् । शुक्रवार जिल्ला सदरमुकाममा भएको नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतीय प्रधानमन्त्रीको यो अतिक्रमणको सशक्त प्रतिरोध गर्ने बताए ।
भारतले मात्र होइन चीनले गर्ने यस्ता अतिक्रमणको सन्दर्भमा सबै पार्टीको साझा धारणा हुनुपर्नेमा उनले जोड दिए । ‘यहाँ राजनीतिक दलहरुले त भन्दा म ठुलो, त भन्दा म धेरै भनिराख्नु पर्दैन,’ उनले भने, ‘हामी एक शक्ति नभइ यो खालको अतिक्रमणलाई परास्त गर्न सकिदैन ।’ नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई लिएर कांग्रेसले घरभित्र कहिलै राजनीति नगर्ने बताउदै उनले थपे, ‘नेपालमा एउटा यस्तो अवस्था बनाउनु छ जहाँ राजनीतिक दलहरुबीच आन्तरिक प्रतिस्पर्धा भएपनि वा नेपालको प्रधानमन्त्री जुनसुकै पार्टीको भएपनि नेपालले भारत वा चीनलाई हेर्ने दृष्टिकोण पार्टी वा प्रधानमन्त्री बदलिदै गर्दा परिवर्तन हुदैन अर्थात नेपालको त्यो देशसँगको सम्बन्ध तलमाथि हुदैन भन्ने सोच जवसम्म बदलिदैन तवसम्म बिदेशी चलखेल रोकिदैन ।’ यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको भनाइ छ ।
पार्टीको आन्तरिक कुरा गर्दै उनले नेपाली कांग्रेसको ४० प्रतिशतभन्दा बढी धेरै जिल्लामा ठुलो घर झगडा रहेको बताए । तलदेखि माथिसम्म गुटको कब्जामा पार्टी गएको उनको भनाइ छ । ‘हाम्रो ताकत के मा गएको छ भने पार्टी भित्र निर्वाचन लड्दा, एक अर्कालाई सिध्याउन जाँदा । हामी एक अर्कासँग लड्दा लड्दा तलदेखि माथिसम्म गुटको कब्जामा पार्टी गएको छ,’ उनले भने ।
विगतदेखि नै पार्टीभित्र गुट रहेको बताउँदै उनले भने, ‘विपि कोइरालाको पालामा पनि गुट थियो, विपि कोइराला र मातृक गुट, विपि र सुर्वण समशेर गुट पनि बन्यो, विपि र गणेशमान गुट, गणेशमान र गिरिजाको गुट हामिले देखेरै आयौ, त्यसैले पार्टीभित्र गुटहरु बन्छ तर ती गुटहरु अहिले संस्थागत भएर गिरोह बन्न लाग्यो त्यसैले यसमा सुधार गर्न सदस्यता वितरणबाटै सुरुवात गर्नुपर्छ ।’ महिनामा कम्तिमा एकपटक स्थानीय तहसँगको सम्वाद राख्न उनले जिल्लाका सभापतिलाई आग्रह समेत गरेका छन् । अवका चुनावमा कांग्रेसले फरक बिचार भएको दलसँग गठवन्धन नगर्ने अठोट लिनुपर्ने उनको धारणा छ ।




