| बुधबार, कार्तिक २५, २०८३

सहमति कार्यान्वयन नभएपछि महोत्सवको विवाद कायमै

वुधवारबाट जिल्लामा शुरु भएको बृहत लोकदोहोरी महोत्सवको बिषयलाई लिएर शुरु भएको विवाद अझै सुल्झिएको छैन । आयोजकले सहमति कार्यान्वयन नगरेको भन्दै जिल्लाका फेन्सी व्यवसायीहरु आक्रोशित छन् । सहमति कार्यान्वयन गराउन आग्रह गर्दै उनीहरुले बिहीवार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा अनुरोध पत्र समेत बुझाएका छन् ।

महोत्सव हुने जानकारी पाएसँगै स्टलको बिषयलाई लिएर कपडा तथा फेन्सी व्यवसायी संघ गोरखा र आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाबीच बिवाद शुरु भएको थियो । विवाद समाधानका लागी नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवालाहरुसहितको छलफलले केही निर्णय गर्दै दुवै पक्षबीच लिखित सहमति गराएको थियो ।

सहमति अनुसार फेन्सी सामग्रीका कुल १३ वटा मात्र स्टल रहने, जसमध्ये ६ वटा जिल्लाका फेन्सी व्यवसायीलाई उपलब्ध गराउने भन्ने थियो । सहमतिमा हस्ताक्षर गरेको भोलीपल्टै महोत्सवका अधिकांश स्टलमा फेन्सी आइटम देखेपछि जिल्लाका फेन्सी व्यवसायीले महोत्सव स्थलमा केही वेर लफडा गरेका थिए । लगतै पुनः गोरखा नगर प्रमुख, प्रजिअ, जिल्ला प्रहरी प्रमुख लगायतका सरोकारवालासहितको उपस्थितीमा छलफल शुरु भयो ।

जिल्ला प्रहरी कार्यालयमा राती करिव दश बजेसम्म भएको छलफलले दुई पक्षवीच अर्काे सहमति गरायो । सहमति अनुसार सात वटा स्टलमा फेन्सी आइटम र बाँकी १३ वटामा जुत्ता, चप्पल र कस्मेटीक आइटम राख्न पाउने सहमति भयो । तर उक्त सहमतिलाई पनि वेवास्ता गर्दै आयोजकले अधिकांश स्टलमा फेन्सीका आइटम राखेको भन्दै फेन्सी व्यवसायीहरुले गुनासो गरेका छन् । यता आयोजकले भने विवाद समाधान भइसकेको जिकिर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्