
चाडपर्व नजिकिएसँगै प्रहरीद्धारा सुरक्षामा कडाई
चाडवाड नजिकिएसँगै प्रहरीले जिल्लाको सुरक्षामा कडाई गरेको छ । चाडपर्वलाई लक्षित बिशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अपराधिक क्रियाकलाप र चोरी नियन्त्रणलाई बिशेष प्राथमिकतामा राखेर सुरक्षा रणनीति बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । ‘रात्रीकालिन गस्तिलाई थप प्रभावकारी बनाउँछौ,’ उनले भने, ‘धार्मिक स्थलहरुमा थप सुरक्षाकर्मी परिचालन गर्छाै ।’
चाडपर्वको नाममा जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी जिल्लाको शान्ति सुरक्षा खलबलाउने जस्ता गतिविधिमा संलग्न हुनेलाई कानूनी कारवाही गरिने उनले चेतावनी दिएका छन् । सवारी दुर्घटना न्यूनिकरणका लागी पनि बिशेष योजना बनाइएको उनले जानकारी दिए ।
सडक तथा राजमार्ग सुरक्षालाई मध्येनजर गर्दै सिभिलमा समेत प्रहरी परिचालन गरिने बताइएको छ । घटस्थापनाभन्दा अगावै बिभिन्न ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने कार्यालयले जनाएको छ ।




