
इजरायलमा रहेका नेपालीहरुको उद्धारमा सरकार गम्भीर भएर लागिपरेको छ : गृहमन्त्री श्रेष्ठ
नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा रहेका नेपालीहरुको उद्धारमा सरकार गम्भीर भएका लागिपरेको बताएका छन् । जिल्ला सदरमुकाममा बुधबारबाट सुरु भएको बृहत लोकदोहोरी महोत्सवलाई सम्बोधन गर्दै उनले इजरायलको अहिलेको स्थितिका कारण नेपाल फर्कन चाहनेहरुलाई सरकारले नै जहाज चार्टर गरी स्वदेश ल्याउने तयारी गरिरहेको बताए ।
सरकार यो दुखद घटनाप्रति अत्यन्तै संवेदनशील र गम्भीर हुदै उद्धार, राहतका निम्ति निरन्तर खटिरहेको उनले जानकारी दिए । ‘अहिले इजरायलका विभिन्न जोखिमयुक्त ठाउँहरुमा भएका सबै नेपालीलाई त्यहाँको दूतावास मार्फत इजराइल सरकारसँगको समन्वयमा सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ,’ उनले भने, ‘आक्रमणमा परी ज्यान गुमाएका सबैको शव नेपालमा ल्याउनका लागि इजराइल सरकारसँग समन्वय भइरहेको छ ।’
युवाहरुलाई स्वदेशमै रोक्नका लागि शिक्षा र रोजगारीका निम्ति उपयुक्त वातावारण बनाउनका निम्ति सरकारका सबै निकायहरु मिलेर जानुपर्नेमा उनले जोड दिए ।
फरक प्रसँग जोड्दै उनले केहि समययता नेपालीहरुको विविधता बीचको एकता सहिष्णुता र सदभावको भावनामाथि आँच पु¥याउने गतिविधिहरु भइरहेकाले यस प्रकारका घटनाहरु नगर्न र नगराउन अनुरोध समेत गरे ।
उनले भने, ‘जातिय, धार्मिक एकता, सौर्हादता र सहिष्णुता हाम्रो मौलिक पहिचान र विशेषतालाई कुनै पनि हालतमा कमजोर हुन दिनु हुदैन । हामी सबै मिलेर हामी बीचको एकता सदभाव र सहिष्णुताको भावना अझ बलियो बनाउनुपर्छ, नेपालको राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउनुपर्छ ।’




