
सुपथ छुट पसलबाट तीन दिनमै ३७ क्वीन्टल बढी चामल बिक्री
चाडपर्वलाई लक्षित गरी जिल्लामा संचालन भएको सुपथ छुट पसलबाट तीन दिनमा ३७ क्वीन्टल भन्दा बढी चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले आइतवारबाट सुपथ पसल संचालन गरेको हो ।
दैनिक ८० देखि एक सय बोरासम्म चामल विक्री हुने गरेको कार्यालय प्रमुख मुनिलाल कुश्वाहले बताए । उनका अनुसार सुपथ पसलबाट प्रति किलो ७ रुपैया छुटमा चामल बिक्री वितरण हुदँै आएको छ ।
‘अहिले स्टिम जिरा मसिनो चामलको बजार मूल्य प्रति केजी ८६ रुपैया छ,’ उनले भने, ‘हामीले ७९ रुपैयमा दिएका छौ ।’ छुट सहित २५ किलो बोराको १ हजार ९७५ रुपैया पर्ने उनले जानकारी दिए ।
चालम लिन आउनेमा सबैभन्दा धेरै गोरखा नगरवासी रहेको कार्यालयले जनाएको छ । शहिदलखन, भीमसेन र आरुघाट गाउँपालिकाका स्थानीयहरु पनि आउने गरेको बताइएको छ । पसल संचालन भएको पहिलो दिन आइतवार १२ क्वीन्टल, सोमवार ८ क्वीन्टल र मंगलवार १७ क्वीन्टल चामल बिक्री भएको कार्यालयले जनाएको छ ।
कार्यालयले यो वर्ष दुई सय क्वीन्टल चामल विक्री वितरण गर्ने अनुमति पाएको छ । सुपथ पसल मंसीर ३ गतेसम्म सञ्चालन हुनेछ ।




