
उत्तरी गोरखाका २ सय ४९ जनाले पाए ‘बोर्डर पास’
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका २ सय ४९ जनाले चीनको सीमा प्रवेश अनुमती पत्र (बोर्डर पास) पाएका छन् । जिल्ला प्रशासन कार्यालयले सीमा प्रवेशका लागी उनीहरुलाई पास उपलब्ध गराएको हो । यही असोज १७ गतेबाट फिलिमको सिर्दिवासस्थित इलाका प्रशासन कार्यालयबाट पास वितरण कार्य शुरु भएको हो ।
हालसम्म छेकम्पारका १ सय १५, चुम्चेतका ३१, ल्होका ४०, सामागाँउका ४५, प्रोकका १२ र बिहीका ६ जनालाई पास वितरण भइसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पास पाउनेमा २५ जना महिला र अन्य पुरुष रहेका छन् । असोज २५ गतेसम्म पास वितरण हुने गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।
विगत चार बर्षदेखि बन्द अवस्थामा रहेको तिब्बत नाका चीन सरकारले खुल्ला गरेपनि पास नभएकै कारण उत्तरी गोरखाका स्थानीयहरु नाका प्रवेश गर्न पाएका थिएनन् । पास उपलब्ध गराइदिन आग्रह गर्दै उनीहरु पटक पटक गृहमन्त्रालय समेत धाएका थिए ।
गृहमन्त्रालयले निर्देशन पश्चात पास वितरण कार्य थालिएको प्रशासन कार्यालयले जनाएको छ । सीमाबाट ३० किलोमिटर आसपासका बासिन्दाले मात्र पास पाउने पालिकाले जनाएको छ । उत्तरी गोरखाका स्थानीयको मुख्य व्यापारिक केन्द्र तिब्बत मानिन्छ । खाद्यान्न देखि आवश्यक सबै उपभोग्य वस्तु उनीहरु तिव्वतबाट ल्याउने गर्दछन् ।




