
लामो समयदेखि अलपत्र रहेको सिंजाली मावि बनाउन चीन सरकार तयार
लामो समयको अलमलपछि शहिद लखन गाउँपालिका–४ स्थित सिंजाली माध्यमिक बिद्यालयको नयाँ भवन बन्ने भएको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनिया समकक्षी लिछयाङ बीच भएको प्रतिनिधिमण्डल स्तरीय भेटवार्तामा परियोजना कार्यान्वयनको सम्झौता भएको हो ।
भवन निर्माणका लागि नेपाल र चीन सरकार बीच करिव दश बर्ष अघि नै सम्झौता भएपनि कार्यान्वयन भएको थिएन । अव छिट्टै भवन निर्माण कार्य सुरु हुने बताइएको छ । ‘२०६७ सालदेखि भवन निर्माण गर्ने भनेर प्रक्रिया अघि बढेको हो,’ गाउँपालिका अध्यक्ष रमेश थापाले भने, ‘चिनिया दुतावास र पालिकाबिच पनि सम्झौता भइसकेको थियो तर बिभिन्न कारणले काम भने सुरु हुन सकेको थिएन ।’
परियोजना कार्यान्वयनका लागि सम्झौता भएसँगै अव निर्माण कार्य पनि अघि बढ्ने उनले अपेक्षा गरे । ‘जमिन नापजाँच र भवनको डिजाइन फाइनल गरेर गइसके, सायद अव यही आउने जनवरीदेखि काम सुरु गर्छन् होला,’ उनले भने । करिव ८० देखि ८५ करोडको लागतमा भवन निर्माण हुने बताइएको छ ।
भवन निर्माणका लागी स्थानीयद्धारा पुरानो भवन भत्काएर जग्गा खालि गर्ने काम भइरहेको उनले जानकारी दिए । भवन अभावका कारण उक्त बिद्यालयले अस्थायी टहरामा पठनपाठन संचालन गरिरहेको छ । चीन सरकारले १० वटा हिमाली जिल्लामा हिमाली आवासीय विद्यालय वनाउन गरेको सम्झौता अनुसार सिंजाली मावि पनि छनोटमा परेको हो ।
सन् २०१३ मा चिनियाँ सरकारले हिमाली जिल्लामा अत्याधुनिक विद्यालय भवनलगायतका संरचना वनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) सँग सम्झौता गरेको थियो । तर सिंजाली माविको भवन निर्माणको काम भने हालसम्म शुरु भएको थिएन ।




