
धर्म र संस्कृती जर्गेनाका लागी भन्दै अष्ट्रेलियामा नेपालीद्धारा मन्दिर निमार्ण गर्न पहल शुरु
धर्म र संस्कृती जर्गेनाका लागी भन्दै अष्ट्रेलियाको सिड्नीमा मन्दिर निर्माणका लागी आप्रवासी नेपालीहरुले पहल थालेका छन् । मन्दिर निर्माणका लागी आउँदो बिहीवार सिड्नीमा रहेका नेपालीहरु बीच बृहत अन्तरक्रिया कार्यक्रम हुने बताइएको छ ।
पण्डित दिनवन्धु पोखरेलको उपस्थितीमा बिशेष छलफल हुने नेपाली हिन्दु मन्दिर निर्माण समिति सदस्य शिव बन्जराले बताए । ‘धर्म रहे संस्कार रहन्छ, संस्कार रहे संस्कृती रहन्छ, संस्कृती रहे हामी रहन्छौ, हामी रहे न हाम्रो पहिचान रहन्छ भनेर प्रवासमा पनि नेपालीहरुको पहिचानलाई स्थापित गर्न यो अभियान अघि बढाएका हौँ,’ उनले भने ।
नेपालीहरु बिश्वको जुनसुकै कुनामा रहेपनि आफ्नो भाषा, धर्म र संस्कृती संरक्षण तथा प्रवद्र्धन गर्दै दोस्रो पुस्तालाई यसको महत्वको बारेमा बुझाउनु सबैको कर्तब्य र दायित्व भएको उनको भनाइ छ । अष्ट्रेलियामा रहेका करिव दुई लाख नेपालीहरुमध्ये सिड्नीमा मात्रै करिब ९० हजार नेपाली बसोबास गरिरहेको उनले बताए ।
नेपालीहरुको संख्या बढेसंगै अष्ट्रेलियामा नेपाली समुदायको धार्मिक, सांस्कृतिक एवम सामाजिक गतिविधिहरु पनि बढ्दै गएको उनले जानकारी दिए । ‘सिड्नी आसपास एउटा पनि मठ÷मन्दिर छैनन्, हाम्रो चाडवाड मनाउन पार्क तथा फंक्सन सेन्टर जानुपर्छ, त्यसैले पनि मन्दिर बनाउन लागेका हौ,’ बन्जराले भने ।




