
गोरखाको अस्थायी रुटको नयाँ भाडादर लागू गर्न बिद्यार्थी संघसंगठनको माग
यातायात व्यवसायीले अस्थायी रुटको नयाँ भाडादर लागू नगरेको प्रति जिल्लामा क्रियाशिल चार राजनीतिक दलका बिद्यार्थी संघ÷संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । आइतवार प्रमुख जिल्ला अधिकारीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै उनीहरुले समायोजित भाडादरमा सुविधा दिनुको सट्टा यातायात व्यवसायीले टिकट समेत नकाटी यात्रुहरुलाई सास्ती दिइरहेको बताए ।
‘एकातिर बर्षाैदेखि मारमा पर्दै आइरहेका यात्रुहरु समायोजनको निर्णय पश्चात पनि ठगिने अवस्था रहिरहेको छ भने अर्काेतिर टिकट बुकिङ काउण्टरबाट सेवा प्रवाह नगर्दा यात्रुहरु झनै ठुलो समस्यामा परिरहेका छन्,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यस अवस्थामा टिकट बुकिङ काउण्टरबाट समायोजित मूल्यमा टिकट काट्न लगाई यात्रुहरु सहज आवतजावत गर्न पाउने अवस्था सिर्जना गर्न हामी सम्पूर्ण क्रियाशिल बिद्यार्थी संघ÷संगठनहरु अनुरोध गर्दछौ ।’
त्यस्तै बजार आसपास पछिल्लो समय बढ्दै गएको चोरीका घटनाप्रति पनि गम्भिर ध्यानाकर्षण भएको उनीहरुले बताएका छन् । सिसिटिभी जडान भएको मुख्य बजार क्षेत्रमै मोटरसाइकल लगायतका सामग्रीहरुको चोरी नियन्त्रणमा आउन नसक्दा जिल्लाको शान्ति सुरक्षाको सवालमा प्रश्न उठेको भन्दै उनीहरुले टिप्पणी समेत गरेका छन् ।
चाडपर्वमा हुने अस्वभाविक मूल्य बृद्धि, कालोबजारी तथा गुणस्तरहिन खाद्यान्न बिक्री वितरण नियन्त्रणका लागी बजार अनुगमन गर्न पनि उनीहरुले आग्रह गरेका छन् । यस्ता घटनाहरु तत्काल नियन्त्रण नभए चरणवद्ध आन्दोलन गर्न बाध्य हुने उनीहरुले चेतावनी समेत दिएका छन् ।
कांग्रेस निकट नेपाल बिद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।




