
आजबाट सहुलियत मूल्य पसल संचालन हुने
दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर जिल्लामा आज आइतबारदेखि सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले पसल सञ्चालन गर्न लागेको हो ।
कार्यालय परिसरमा संचालन हुने सहुलियत मूल्य पसलमा खाद्यान्न खरिद गर्दा प्रति किलो ७ रुपैया छुट हुने कार्यालयका सूचना अधिकारी शिव सुनारले बताए । ‘अहिले स्टिम जिरा मसिनो चामलको मूल्य प्रति केजी ८६ रुपैया छ,’ उनले भने, ‘हामी ७९ मा दिन्छौ ।’ छुट सहित २५ किलोको बोराको १ हजार ९७५ रुपैया पर्ने उनले जानकारी दिए । उनका अनुसार प्रति व्यक्ति एक बारा मात्र चामल उपलब्ध गराइने छ ।
कार्यालयले सोना मंसुली चामल भने बिक्री गर्न नसक्ने जनाएको छ । ‘कारागार कार्यालय गोरखालाई सोना मंसुली चामल नै उपलब्ध गराउनुपर्छ,’ कार्यालय प्रमुख मुनिलाल कुश्वाहाले भने, ‘हामीसँग स्टक धेरै छैन, ढुवानीको नयाँ ठेक्का स्वीकृत भएपनि सम्झौता नभएका कारण थप चामल आउन सकेको छैन, त्यसैले अहिलेलाई सहुलियत बजारमा सोना मंसुली चामल बिक्री गर्न सक्ने अवस्था छैन ।’
सम्झौता भएर चामल ढुवानी भएमा बिक्री वितरण गरिने उनले जानकारी दिए । सहुलियत मूल्य पसल मंसीर ३ गते सम्म सञ्चालन हुनेछ । कम्पनीले यस अघिका वर्षमा पनि सहुलियत मूल्यको पसल सञ्चालन गर्दै आएको थियो ।




