
यातायात व्यवसायीको दोहोरो चरित्र : निर्णयमा सहमति कार्यान्वयनमा अटेर
विकास मरहट्टा :
गत सोमवार निर्धारण भएको जिल्लाका अस्थायी रुटको नयाँ भाडादर लागू गर्न यातायात व्यवसायीले अटेर गर्दै आएका छन् । अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले वुधबारबाट नयाँ भाडादर लागू गर्न भनेपनि उनीहरुले पुरानै दररेटमा भाडा लिदै आएका छन् । सो कुरा उनीहरु स्वयमले स्वीकार गरेका छन् । समायोजन गरिएको नयाँ भाडादर त्रुटीपूर्ण र अबैज्ञानिक रहेको भन्दै त्यसलाई पुर्नबिचार गर्नुपर्ने उनीहरुको माग छ ।
भाडा समायोजनका लागी बसेको बैठकमा यातायात व्यवसायीहरुको प्रतिनिधित्व गर्दै बैठकमा सहभागी गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष नारायण खत्रीपनि सहभागी थिए । नयाँँ भाडादरप्रति सहमति जनाउँदै निर्णयमा उनले हस्ताक्षर समेत गरे । तर हस्ताक्षर भएको २४ घण्टा नबित्दै नयाँ भाडादरप्रति असन्तुष्टी जनाउँदै यातायात व्यवसायीहरु ज्ञापन पत्र सहित प्रशासन र प्रहरी कार्यालय धाउन थाले ।
नयाँ भाडादर लागू गर्न नसक्ने भन्दै आफ्नै नेतृत्व तहको सहमतिमा भएको निर्णय कार्यान्वयनमा बाधक बनेपछि उनीहरुको आलोचना समेत हुन थालेको छ । निर्णयमा सहमत जनाउँदै हस्ताक्षर गरेका प्रालिका अध्यक्ष खत्री स्वयमले पनि नयाँ भाडादर प्रति असन्तुष्टी जनाएका छन् ।
आफै बैठकमा उपस्थित भएर निर्णयमा सहमति जनाउँदै हस्ताक्षर गर्नुभयो, अहिले फेरी त्यही निर्णयको बिरोध गर्नुभाछ किन ? भन्ने दरौदीको प्रश्नमा उनले भने, ‘रेटको बिषयमा हाम्रो खासै बिरोध होइन तर सडकको स्तर र किलोमिटर निर्धारणको बिषयमा हाम्रो असन्तुष्टी हो ।’ सडकको स्थलगत निरिक्षण गरेर भन्दा पनि यही बसेर अन्दाजको भरमा स्तर र किलोमिटर निर्धारण गरिएको भन्दै उनले असन्तुष्टी व्यक्त गरे ।
उनले भने, ‘गोरखा आरुघाटको दुरी ४२ किलोमिटर छ तर उहाहरुले ३९ किलोमिटर निर्धारण गर्नुभएको छ, यो उदाहरण मात्र हो यस्तो त धेरै रुटमा भएको छ ।’ जिपिएस हेरेर मात्र भन्दा पनि फिल्डमै गएर स्थलगत निरिक्षण गरेर दुरी र सडकको स्तर निर्धारण हुुनपर्ने उनको माग छ । ग्राभेल भनिएका कतिपय सडकमा गाडी फस्ने गरेको भन्दै त्यसको पनि स्थलगत निरिक्षण हुनुपर्ने उनले बताए । भाडा समायोजनको निर्णयको बिषयमा राजनीतिक दलसहितको बैठक बसेर पुर्नबिचार गर्नुपर्ने उनको भनाइ छ ।
यता समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कायम गरिएको नयाँ भाडादरमा कुनै हेरफेर नहुने बताए । ‘किलोमिटरमा तलमाथि परेको रहेछ भने एक पटक पुनर्बिचार गरेर आवश्यक परे संशोधन गर्न सकिन्छ, तर भाडादर घटाउने भन्ने चाहि हुदैन,’ उनले भने । बिभागले तोकेको इन्डिकेटरको आधारमा नयाँ भाडादर निर्धारण गरिएको भन्दै उनले वहानावाजी नगर्न व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् ।
‘२०६६ सालदेखि उहाहरुले मनपरी भाडा लिदै आउनुभएको थियो, यात्रुलाई मर्का परेको थियो, अहिले हामीले त्यसलाई संशोधन ग¥यौ, यसमा असन्तुष्ट हुनुपर्ने बिषय नै छैन,’ उनले भने । व्यवसायीको असन्तुष्टीका बिषयमा जिल्लामा क्रियाशिल राजनीतिक दलहरु बसेर एकपटक छलफल गर्ने उनले जानकारी दिए ।




