
बालमैत्री स्थानीय तह निर्माण गर्ने पालिकाहरुको प्रतिबद्धता
जिल्लाका स्थानीय तहहरुले बालमैत्री स्थानीय तह निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीवार जिल्ला सदरमुकाममा भएको बालबालिका ऐन २०७५ को कार्यान्वयन सम्बन्धी कार्याशाला गोष्ठीमा ऐन कार्यान्वयनका लागी उनीहरुले नौ बुदेँ साझा प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
सबै स्थानीय तहमा बालकल्याण अधिकारी सहित स्थानीय बालअधिकार समितिको व्यवस्था गर्ने प्रतिवद्धता उनीहरुले गरेका छन् । बालबालिकाहरुको घटनाको व्यवस्थापन गर्न बालमनोविज्ञ र समाजसेवी सूचिकृत गरिने उनीहरुले बताएका छन् । बाल क्लवहरूको गठन र सञ्जालको व्यवस्था गरि बाल सहभागितालाई परिवारदेखी स्थानीय तहसम्म सुनिश्चित गर्ने उनीहरुले जनाएका छन् ।
बालकोषको स्थापना र संचालन गरिने बताइएको छ । त्यस्तै बालबालिका सम्बन्धी स्थानीय तहमा सूचना व्यवस्थापनलाई प्रभावकारी बनाई भाषिक रुपमा बालबालिकाको स्थिति प्रतिवेदन प्रकाशन गरिने, बालअधिकार सुनिश्चितताका लागि बालबालिकासँग सरोकार राख्ने सम्बद्ध पक्षहरुसँग आपसी समन्वय सहकार्य र साझेदारितामा गर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन् ।
प्रतिवद्धता कार्यान्वयन भए नभएको अनुगमन जिल्ला समन्वय समितिले गर्ने भनिएको छ । सामाजिक विकास कार्यालय र राष्ट्रिय बालअधिकार परिषदले भने सहिजकरण गर्ने बताइएको छ । राष्ट्रिय बाल अधिकार परिषदको आयोजना र जिल्ला समन्वय समिति गोरखाको समन्वयमा भएको कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, बालकल्याण अधिकारी, सामाजिक विकास कार्यालयका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।




