
कार्यसम्पादनका आधारमा गोरखा प्रशासन अति उत्कृष्ट श्रेणीमा
कार्यसम्पादन मूल्याकंनका आधारमा जिल्ला प्रशासन कार्यालय अति उत्कृष्ट ठहरिएको छ ।
गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९÷८० मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरि ९० भन्दा माथि अंक ल्याउँदै कार्यालय अति उत्कृष्ट ठकरिएको हो ।
कार्यालयले ९३.३१ अंक प्राप्त गरेको गृहमन्त्रालयले जनाएको छ । अति उत्कृष्ट ठहरिएका देशभरका ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु मध्ये गोरखाका १७ औँ स्थानमा रहेको छ । विपत व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, जिल्लाको शान्ति सुरक्षाको अवस्था, कार्यालय दर्ता भएको मुद्धाहरुको फर्छौटको अवस्था, कार्यालय प्रमुखहरुको वैठक, अनुगमन लगायतका आधारमा मूल्यांकन गरिएको मन्त्रालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार आ.व. २०७८÷०७९ मा ८७ अंक प्राप्त गरी गोरखा १९ औँ स्थानमा रहेको थियो । त्यस्तै अन्य ३० वटा प्रशासन कार्यालयहरु ८० देखि ९० अंकसम्म ल्याएर ‘उत्कृष्ट’ ठहरिएका छन् । बाँकी १४ जिल्ला प्रशासन कार्यालयहरु ‘उत्तम’ कार्यसम्पादनको सूचीमा छन् ।
कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय गुल्मी ९६.४४ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ६१.५६ अंकसहित अन्तिम स्थानमा छ ।




