
बारपाक सुलिकोटमा जग्गाको कित्ताकाट खुल्यो
बारपाक सुलिकोट गाउँपालिकामा पनि जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाको ‘भू–उपयोग क्षेत्र बर्गिकरण २०८०’ स्थानीय राजपत्रमा प्रकाशित भइ जिल्ला मालपोत र नापी कार्यालयमा बुझाउने कार्य सम्पन्न गरेसंगै रोकिएको कित्ताकाट खुलेको हो ।
भू–उपयोग नियमावली अनुसार जग्गा वर्गीकरण गरी सोमबार मालपोत र नापी कार्यालयलाई कित्ताकाट वर्गीकरण पुस्तक हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले बताए ।
अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्ने उनले जानकारी दिए । गत बर्षको जेठ महिनादेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन् भने राजश्व समेत प्रभावित हुन पुगेको थियो । भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले भूउपयोग ऐन २०७६ ल्याएको थियो । उक्त ऐन कार्यान्वयन गर्न गत जेठ २३ गते सरकारले भूउपयोग नियमावली २०७९ ल्यायो ।
नियमअनुसार जग्गालाई कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल, सिमसार, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रमा वर्गीकरण गर्नुपर्ने उल्लेख गरिएको छ ।





