
चुम्चेतको सिद्ध गणेश आधारभूत बिद्यालयलाई मावि बनाउन पहल
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्चेतस्थित सिद्ध गणेश आधारभूत बिद्यालयलाई माध्यमिक तहमा स्तरोन्नती गर्न गाउँपालिकाले पहल थालेको छ ।
सोमवार पूर्व राज्यमन्त्री छम बहादुर गुरुङको उपस्थितीमा वडाध्यक्ष, बिद्यालय व्यवस्थापन समिति लगायतका सरोकारवालाबीच छलफल गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।
‘त्यो बिद्यालय अहिले कक्षा ५ सम्म संचालनमा छ,’ उनले भने, ‘यसलाई मावि बनाउन भावी योजना तथा सम्भाव्यता सम्बन्धी छलफल गरेका हौ ।’
सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक पहल गरिने उनले जानकारी दिए । मावि नहुदाँ धेरै बिद्यार्थीहरु पाँच कक्षा पढेर छाड्ने गरेको बताउँदै उनले भने, ‘पाँच कक्षा सकेपछि अरु पढाइ गर्न सिर्दिवासको फिलिम जानुपर्छ, आर्थिक अवस्था कमजोर भएका अभिभावकले बालबच्चा त्यहाँ लगेर पढाउदैनन् ।’
आवासिय सुविधा सहित संचालन भइरहेको उक्त बिद्यालयलाई मावि तहमा स्तरोन्नती गर्न सके चुम्चेतका बिद्यार्थीलाई धेरै सहज हुने उनले बताए । उक्त बिद्यालयमा हाल करिव ५० जना बिद्यार्थी अध्ययनरत छन् । बिद्यालयमा स्थानीय भाषा समेत पढाइ हुने गरेको बताइएको छ ।




