| बुधबार, कार्तिक २५, २०८३

धार्चे गाउँपालिकाका सात जनाले गरे मनास्लु हिमालको सफल आरोहण

केशव गुरुङ :

आरोहीको गाउँपालिका भनेर चिनिने धार्चे गाउँपालिकाका सात जनाले यो सिजनमा मनास्लु हिमालको सफल आरोहण गरेका छन् । वडा नम्वर ४ लाप्राकका पाँच जना, वडा नं ३ र ५ बाट एक÷एक जना गरी सात जनाले हिमालको सफल आरोहण गरेका हुन् । हिमाल आरोहण गर्नेमा लाप्राकका सुमन गुरुङ, सुजल गुरुङ, बुद्ध गुरुङ, इमान गुरुङ र विस बहादुर गुरुङ, वडा नम्वर ५ माछाखोलाकी नानुमाया गुरुङ र वडा नम्वर ३ उहियाका ओम बहादुर गुरुङ (माइला) रहेका छन् ।

सुमन असोज ४ गते हिमालको चुचुरोमा पुगेका थिए । सुजल र बुद्ध भने असोज ५ गते चुचुरोमा पुग्न सफल भएका हुन् । त्यस्तै ओमबहादुरले असोज ७ गते, इमानले असोज ८ गते, विस बहादुरले असोज १० गते र नानुमायाले असोज १० गते हिमालको सफल आरोहण गरेका हुन् ।

सुजलले यसअघि ६ हजार मिटरभन्दा माथिको मेरो छाई पिसाङ पिक, छुलु वेस्ट पिक, आइसल्याण्ड पिक, लाबुचे पिक र अमादब्लाम हिमालको सफल आरोहण गरिसकेका छन् । पर्यटन क्षेत्रमा आबद्ध भएको सात वर्षको छोटो अवधिमा उनले यति धेरै हिमाल आरोहण गर्न सफल भएका हुन् ।

त्यस्तै बुद्धले यस अघि ६ हजार मिटरको छुलु हिमाल आरोहण गरिसकेका छन् ।८ हजार मिटर अग्लो हिमालमा भने उनको यो पहिलो अनुभव हो ।

विस बहादुरले यसअघि ६ हजार मिटरका १७ वटा भन्दा बढी हिमाल आरोहण गरिसकेका छन् । उनले केहि महिना अघि मात्रै विश्वकै अग्लो हिमाल सगरमाथाको समेत सफल आरोहण गरिसकेका छन् ।

नानुमायाको मनास्लु हिमाल आरोहण यो दोस्रो पटक हो । मनास्लुको चुचुरोमा पुगेर उनले धार्चे गाउँपालिकाको लोगो सहितको ब्यानर फरफराएकी थिइन् । यसअघि उनले सोलुखुम्बु जिल्लामा रहेको छ हजार मिटर अग्लो दुई वटा हिमाल आरोहण गरिसकेकी छन् ।

ओमबहादुरले यसअघि सगरमाथाको समेत सफल आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्