
अजिरकोटको बार्षिक प्रगति : मन्दिर पुनर्निर्माणदेखि पदमार्ग निर्माणसम्म
अजिरकोट गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ७६.०४ प्रतिशत रहेको छ । चालु तर्फ ८०.८९ र पुँजीगत तर्फ ७१.२ प्रतिशत खर्च प्रगति रहेको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थीका अनुसार गत बर्ष पालिकाको कुल बजेट ५५ करोड ५६ लाख रहेको थियो ।
जसमध्ये ४२ करोड ९२ लाख खर्च भएको छ । गत आव आर्थिक बिकास तर्फ ३ करोड ६९ लाख रकम विनियोजन भएको अवस्थीले जानकारी दिए । जसमध्ये २ करोड ४ लाख रकम खर्च भएको छ । त्यस्तै सामाजिक बिकास क्षेत्र अन्तरगत विनियोजित २० करोड ९३ लाख रकममध्ये १७ करोड ९५ लाख रकम खर्च भएको बताइएको छ ।
पूर्वाधार बिकास तर्फ भने गत बर्ष १८ करोड ९९ लाख रकम विनियोजन भएको थियो । उक्त रकममध्ये १३ करोड ८२ लाख खर्च भएको छ । सुशासन तथा संस्थागत बिकास सम्बन्धी विनियोजन भएको रकममध्ये १ करोड ३१ लाख खर्च भएको पालिकाले जनाएको छ । उक्त क्षेत्रमा २ करोड ४४ लाख रकम विनियोजन भएको थियो । पालिकाले कार्यालय संचालन तथा प्रशासन तर्फ ९ करोड ४९ लाख रकम विनियोजन गरेको थियो । जसमध्ये ७ करोड ७८ लाख रकम खर्च भएको छ ।
गत बर्ष पालिकाले तीन वटा ऐन, दुई वटा निर्देशिका र आठ वटा कार्यविधि बनाएको छ । आर्थिक बर्ष २०७४÷७५ देखि हालसम्म २० वटा ऐन, २ वटा नियम÷नियमावली, ७ वटा निर्देशिका, एउटा मापदण्ड र ३१ वटा कार्यविधि बनिसकेको पालिकाले जनाएको छ ।
पालिकाले गत आव योजना अनुसार वडामा रकम विनियोजन गरेको थियो । वडा नम्वर १ मा २५ योजनाका लागी एक करोड दुई लाख, वडा नम्वर २ मा २७ योजनाका लागी एक करोड दुई लाख, वडा नम्वर ३ मा ४४ योजनाका लागी एक करोड २३ लाख, वडा नम्वर ४ मा ४० योजनाका लागी एक करोड ४४ लाख र वडा नम्वर ५ मा ४३ योजनाका लागी एक करोड ५६ लाख रकम विनियोजन गरिएको पालिका प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए । गत आवको आन्तरिक राजश्व ७२ लाख रहेको उनले जानकारी दिए ।
गत आव झ्याल्लाभूमी मन्दिर पुनर्निर्माण कार्य र कक्षा ३ को स्थानीय पाठ्यपुस्तक ‘अजिरकोट सेरोफेरो’ लेखन कार्यलाई पालिकाले प्रमुख उपलब्धीको रुपमा लिएको छ । त्यस्तै नागेपोखरी नारदपोखरी पदमार्ग निर्माण, उत्पादनमा आधारित अनुदानको सुरुवात, पाँच शैयाको आधारभूत अस्पताल निर्माण लगायतका बिषयलाई पनि पालिकाले गत बर्षको उपलब्धीको रुपमा लिएको छ ।
यता अव्यवस्थित योजना प्रणाली, सर्वयाम यातायात पूर्वाधारको कमी, विपदको पूर्व तयारीमा कमी लगायतका बिषयलाई पालिकाले समस्यामा रुपमा लिएको छ । बिकास व्यवस्थापनमा अन्तर तह समन्वय गर्नु, उच्च बसाईसराईको व्यवस्थापन गर्नु लगायतका बिषय चुनौतीको रुपमा रहेको पालिकाले जनाएको छ ।




