
शहिद लखनको बार्षिक प्रगति समीक्षा : प्रशासनिक भवन निर्माणदेखि सडक कालोपत्रेसम्म
शहिद लखन गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० मा कूल बजेटको ८४ प्रतिशत खर्च गर्न सफल भएको छ । चालु तर्फको खर्च प्रतिशत ८७ र पुँजीगत तर्फ ७८ प्रतिशत रहेको पालिकाले जनाएको छ । आइतवार र सोमवार सदरमुकाममा भएको जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले सो कुरा जानकारी गराएका हुन् ।
आम्दानी तर्फको प्रगति भने ८६ प्रतिशत रहेको उनले बताए । गत आर्थिकवर्ष ७६ करोड ३ लाख ६३ हजार आम्दानी हुने अनुमान गरेपनि ६५ करोड ६५ लाख ४३ हजार मात्र आम्दानी भएको उनले जानकारी दिए । बिभिन्न कर र न्यायिक दण्ड जरिवानाबाट २ करोड ७२ लाख ५९ हजार राजश्व रकम जम्मा भएको उनको भनाइ छ । उनका अनुसार गत आर्थिक बर्ष मनकामना केवलकारबाट मात्रै ७७ लाख ६० हजार राजश्व संकलन भएको छ ।
पालिकाले गत आव ६ वटा ऐन, एउटा नियमावली र तीन वटा मापदण्ड निर्माण गरेको जनाएको छ । पालिकाका अनुसार आव २०७४÷७५ देखि हालसम्म तीन वटा नीति (लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण नीति २०७७, सुशासन प्रवद्र्धन नीति २०७७ र सामाजिक समावेशिकरण नीति २०७८), ४२ वटा ऐन, ५÷५ वटा नियमावली र निर्देशिका र ४ वटा मापदण्ड निर्माण भइसकेको बताइएको छ ।
भौतिक पूर्वाधारको प्रगतितर्फ गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण कार्यलाई पनि समावेश गरेको छ । हालसम्म भवनको ८५ प्रतिशत काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । त्यस्तै गाउँपालिका स्तरीय १५ शैयाको आधारभूत अस्पताल निर्माण कार्यको २० प्रतिशत प्रगति भएको उनले जानकारी दिए ।
उनका अनुसार लखनथापा लोकमार्गअन्तर्गत नामजुङ घैरुङ सडक खण्डको ३.५ कि मि सडक कालोपत्रे कार्यको २५ प्रतिशत काम सम्पन्न भएको छ । देउराली रानीश्वाँरा तीनघरे चिसापानी तिनमाने घैरुङ सडक स्तरोन्नति कार्यको पहिलो चरणको काम सम्पन्न सकेर दोस्रो चरणको ८० प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।
मनकामना क्षेत्रको बोका सफाइ केन्द्रबाट निस्कने लादीबाट वायोग्यास उत्पादन गर्न १५ घनमिटर क्षमताको बायोग्यास प्लान्ट निर्माण गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । ‘गत आव चारवटा झोलुङ्गे पुलहरु निर्माण भयो,’ उनले भने, ‘वडा नम्वर ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणको ५० प्रतिशत काम पनि सम्पन्न भइसक्यो ।’ बक्राङ दिप्लिङ गुर्दुम मास्कीछाप सडक स्तरोन्नति कार्यको पनि ८८ प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।
बढ्दो बसाइसराइलाई पालिकाको समस्याको रुपमा लिएको छ । त्यस्तै सरकारी अनुदानको उचित व्यवस्थापन गर्नु, सामदायिक बिद्यालयको शैक्षिक उपलब्धी सुधार गर्नु लगायतका बिषयलाई पालिकाले चुनौतीको रुपमा लिएको छ ।




