
गण्डकी गाउँपालिकाबाट शालक र हुचिलको उद्धार
गण्डकी गाउँपालिका–८ बाट दुई वन्यजन्तुको उद्धार भएको छ । एक साताको अवधिमा शालक र हुचिलको उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
गत भदौ ३० गते शालक जंगलबाट बस्ति पसेपछि स्थानीयले कार्यालयलाई खवर गरेका थिए । स्थानीयको सहयोगमा सव डिभिजन वन कार्यालय सिउरेनटारको प्राविधिक टोलीले शालकको उद्धार गरेको हो । उद्धार पश्चात उक्त शालकलाई उपयुक्त वासस्थानमा छाडिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । उनका अनुसार नेपालमा चाइनिज र इण्डियन गरी दुई प्रकारका शालक पाइन्छन् ।
उद्धार गरिएको शालक चाइनिज प्रजातिको रहेको उनले जानकारी दिए । ‘गोरखा जिल्लाको वन क्षेत्र शालकका लागी उपयुक्त वासस्थान मानिन्छ,’ उनले भने, ‘त्यसैले यहाँ धेरै शालक भेटिने गर्छन् ।’ हालसम्म गोरखामा भेटिएका सबै शालक चाइनिज प्रजातिका रहेको उनको भनाइ छ । उनका अनुसार ‘आयूसियान रेडलिष्ट’ मा शालकलाई अति संकटासन्न वन्यजन्तुभित्र राखिएको छ भने नेपालको ऐनले संरक्षित स्तनधारी वन्यजन्तुको रुपमा राखेको छ ।
त्यस्तै गत बिहीवार कार्यालयले हुचिलको पनि उद्धार गरेको छ । घरभित्र पसेको हुचिललाई सव डिभिजन वन कार्यालय सिउरेनटारको टोलीले उद्धार गरेको हो । ‘स्थानीयको घरमा पसेपछि हामीलाई खवर भयो,’ कार्यालयका सूचना अधिकारी पौडेलले भने, ‘हाम्रो टोली गएर उद्धार गरेर ल्यायो ।’ घाइते अवस्थामा भएकाले सिउरेनटारको कार्यालयमा सुरक्षित साथ राखेर उपचार भइरहेको उनले बताए ।
केही दिन पश्चात उचित वासस्थानमा लगेर छाडिने उनले जानकारी दिए । उनका अनुसार हुचिललाई पाल्न र किनबेच गर्न प्रतिवन्ध लगाइएको छ । खेतीवाली नष्ट गर्ने मुसा यसको मुख्य आहार भएकाले पनि यसलाई किसानको साथीको रुपमा लिइन्छ ।




