
सीमा नाका चिनियाँ पक्षले खोलेको, नेपालले नखोलेको गुनासो
कोरोनाको कारण देखाउँदै बिगत चार वर्षदेखी बन्द रहेका उत्तरी गोरखा जोड्ने नाका अहिले चिनियाँ पक्षले खुल्ला गरे पनि नेपाल सरकारले आवागमनको अनुमति दिएको छैन । २०७६ साल पुसदेखि बन्द रहेको चुमनुब्री गाउँपालिका वडा नं. १ को रुईला नाका र वडा नं. ७ को ङुइला नाका एक साता अघि खुला गरेको हो । चिनियाँ पक्षले परिचयपत्र लिएर आउन बाटो खुल्ला गरिदिँदा नेपाल सरकारले अनुमति नदिएको भन्दै उत्तरी गोरखाका बासिन्दाले गुनासो गरेका छन् ।
‘चीनको केरुङ जिल्ला गोङदाङअन्तर्गत रुईला नाकामा दुईपटकसम्म बैठक बस्यौँ । चिनियाँ पक्षले सेप्टेम्बर १२ बाट नाका खुल्ला गर्छौँ भने,’ चुमनुब्री गाउँपालिका वडा नं. १ का अध्यक्ष कर्मा छेवाङ लामाले भने, ‘नागरिकता र सीमाना आसपास बसोबास गर्ने बासिन्दा हौं भनेर चिन्ने परिचयपत्र लिएर आउनू भने । अहिले उनीहरुले नाका खुलाइसकेका छन्, तर हाम्रो सीमा प्रशासन कार्यालयले परिचयपत्र दिँदैन ।’ चारबर्षदेखि बन्द रहेका नाका बल्लतल्ल खुल्दा स्थानीयल धेरै खुशी भएका थिए । तर परिचयपत्र(बोर्डरपास) नपाउँदा आवतजावत गर्न नपाएको भन्दै स्थानीय बासी चिन्तित बनेका छन् ।
चिनियाँ पक्षले सीमा खुल्ला गर्दा पनि नेपाली पक्षको ढिलासुस्तीका कारण दुर्गम भेगमा बस्ने नेपाली पक्ष लाभ लिनबाट बञ्चित भएको वडा नं. २ का वडाध्यक्ष मिङ्ग्युर दोर्जे लामाले बताए । चिन सरकारले नाका खुल्ला गरेर सामान किन्न आउन खबर गरिरहेको चुमनुब्री ७ का वडाअध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए । त्यहाँ जानका लागि सीमा प्रशासन कार्यालयले बनाएको बोर्डर पास चाहिन्छ । ‘सबैको बोर्डरपास नवीकरण फेल भएको छ । कसैको नयाँ बनाउनु पर्ने छ तर नेपाल सरकारले बोर्डर पास बनाएन । हामी दुर्गम भेगका बासिन्दा मर्कामा परेका छौँ’, उनले भने ।
पहिले चीन सरकारले एकातर्फी रुपमा नाका बन्द गर्दा चिनियाँ पक्षबाट पिडित भएका गोरखाका सीमा क्षेत्रका बासिन्दा अहिले चिनियाँ पक्षले खुल्ला गरेको तर नेपाल पक्षले बोर्डर पास नबनाइदिँदा नेपाल सरकारबाट पिडित भएका हुन् ।
बाढी पहिरोले गर्दा बाटो बिग्रिएर तल्लो भेगबाट खाद्यान्न ढुवानी हुन नसकेको तीन महिना भएको वडा नं. ७ निलेका मिङ्ग्युर लामाले जानकारी दिए । ‘अब हिउँ पर्न थाल्छ, घरमा खाद्यान्न सकिन लाग्यो ।’ उनले भने, ‘जतिसक्दो चाँडो बोर्डर पास लिएर चाइना जान पाइएन भने, यो सिजनभरि जान सकिँदैन ।’ जतिसक्दो चाँडो बोर्डरपास बनाइदिएर सीमा पारिको बजारमा अत्यावश्यकीय सामान किन्न जान पाउने वातावरण मिलाईदिन उनको माग छ ।
नाका खुलेको बारेमा चुमनुब्री ३ फिलिमस्थित सीमा प्रशासन कार्यालयले जानकारी पाएपछि बोर्डर पास बनाउने अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय गोरखामा सम्पर्क ग¥यो । जिल्ला प्रशासन कार्यालय बोर्डर पास बनाउने अनुमति पाउनका लागि गृहमन्त्रालयमा सम्पर्क गरेको थियो । तर मन्त्रालयबाट कुनै प्रतिक्रिया नआएपछि बोर्डर पास बनाउन तथा नवीकरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
नाका खुलेको सन्देश लिएर गाउँपालिकाका अध्यक्ष निमा लामा गृहमन्त्रालयमा करिब एक हप्ता धाए । ‘आवश्यक प्रक्रिया अघि बढाइदिनुहुन’ भन्ने गृहमन्त्रीबाट तोक लागेको चिठी लगेर गृहसचिवलाई पेश गरे तर मन्त्रालयले कुनै प्रक्रिया अघि नबढाइदिएको भन्दै लामाले गुनासो गरेका छन् । रुइला र ङुइला नाका बाह्रै महिना खुल्ने नाका होइन । निश्चित केही दिनका लागि खुलाएर बन्द गरिन्छ । ‘वडाअध्यक्षहरुसहित मैले गृहमन्त्री, गृहसचिव सबैलाई भेटेर धेरै अनुरोध गरेका हौँ । मन्त्रीज्यूले तोक लगाइदिनु भएको पनि हो, तर कर्मचारीहरुले विधि र प्रक्रिया अनुसार पत्र आउनुपर्छ भनेर आलटाल मात्र गरिरहेका छन्’ अध्यक्ष लामाले भने ।
गृहमन्त्रालयका सहसचिव(प्रवक्ता) केदारनाथ शर्माका अनुसार गृहमन्त्रीले चिठीमा तोक लगाइदिए पनि विधि र प्रक्रिया अनुसार नाका खुलेको बारे जानकारी पत्र आउनु पर्ने बताए । ल्हासास्थित कार्यालयमा नाका खुलाउने विषयमा सहमति भइसकेको भन्ने सूचना आएको समेत उनले जानकारी गराए । अब छिट्टै चिठी पनि आएर बोर्डर पास बनाउने प्रक्रिया अघि बढ्ने बताएका छन् ।
गोरखा सदरमुकामबाट ५२ कोश टाढा रहेको चुमनुब्री गाउँपालिका सडक सञ्जालले नजोडेको पालिका हो । यहाँबाट दैनिक उपभोग्य सामान किन्न तिब्बती बजार गोङदाङ र जोङ जाने गर्छन् । उताको बजारबाट आफ्नै घोँडा, याक, चौँरीमा एकै दिनमा सामान ढुवानी गर्न पाउँदा सस्तोमा सामान आउने तर सदरमुकाम क्षेत्रको बजारबाट सामान गाउँमा पु¥याउँदा छ, सात दिनसम्म खच्चडमा ढुवानी गर्नुपर्ने स्थानीयको भनाइ छ । प्रतिकिलो सामानमा ढुवानी भाडा मात्रै १५० रुपैयाँ जोडिने वडाअध्यक्ष कर्मा छेवाङको भनाइ छ । त्यही सामान पनि बर्खाका तीन महिना ढुवानी गर्न नसकिने उनको गुनासो छ ।




