
संविधान दिवसमा कार्यक्रम : दीप प्रज्वलनदेखि दौड प्रतियोगितासम्म
नवौँ संविधान दिवस वुधवार गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जिल्ला सदरमुकाममा पाँचौ खुल्ला दौड प्रतियोगिता भएको छ । लियो क्लब अफ गोरखाको आयोजनामा भएको प्रतियोगितामा बारपाक सुलिकोटका सुरज गुरुङ प्रथम भएका छन् । लक्ष्मीबजारदेखि पुरानो बसपार्कसम्मको निर्धारित दुरी १८ मिनेट २१ सेकेण्डमा पार गर्दै उनी प्रथम भएका हुन् ।
प्रतियोगितामा सिरानचोक गाउपालिकाका सन्दीप ढकाल दोस्रो भएका छन् । उनले १८ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए । त्यस्तै १९ मिनेट ५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै बारपाक सुलिकोटका नवराज गुरुङ तेस्रो भएका छन् भने आवुखैरेनी गाँउपालिकाका सनम गुरुङ चौथो भएका छन् ।
उनीहरुले क्रमश ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३, २ हजार २ सय २२ र १ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पाएका छन् । बिजेताहरुलाई लायन्स क्लब अफ गोरखाका अध्यक्ष भगवानबाबु मास्केले पुरस्कार वितरण गरेका हुन् । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिता गरिएको क्लबका अध्यक्ष मोहन श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितामा १८ जनाको सहभागीता रहेको थियो ।
दिवसकै अवसरमा नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले सर्वसाधारणलाई नेपालको झण्डा वितरण गरेको छ । अनेरास्ववियु गोरखा जिल्ला कमिटीको आयोजनामा वुधवार जिल्ला सदरमुकाममा राष्ट्रिय झण्डा वितरण कार्यक्रम गरिएको हो । ‘सेल्फी विथ नेसनल फ्ल्याग’ भन्ने कार्यक्रम अन्तरगत झण्डा वितरण कार्यक्रम गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष प्रताप ढकालले बताए ।
हरमटारी खेलकुद मैदानदेखि हरमटारी लोकतान्त्रिकचोकसम्म रहेका व्यवसायी र सर्वसाधरण गरी एक सयभन्दा बढीलाई झण्डा वितरण गरिएको उनले जानकारी दिए । कार्यक्रममा अनेरास्ववियु पुर्व केन्द्रिय सचिवालय सदस्य तथा नेकपा एमाले गोरखाका जिल्ला कमिटी सदस्य प्रविन श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो ।
त्यस्तै दिवसकै अवसरमा प्रथम गोरखा कप अन्तरविद्यालय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । हिल्ली फिल्डर्स गोरखा एफ सिको आयोजनामा बुधवार भएको प्रतियोगिताको उपाधी सुर्यमुखी बोर्डिङ ‘सि’ ले हात पारेको छ । वुधवार भएको फाइनल खेलमा सुर्यमुखी बोर्डिङ ‘ए’ लाई ३–० गोल अन्तरले पछि पार्दै उपाधी जितेको हो ।
प्रतियोगितामा भुराजवृक्ष प्रावि तेस्रो भएको छ । नेपाल राष्ट्रिय भुपु बोर्डिङलाई २–१ को गोल अन्तरले हराउँदै भुराजवृक्ष तेस्रो भएको हो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई शिल्ड र मेडल प्रदान गरिएको छ । कक्षा ५ सम्मका बिद्यार्थी सहभागी भएको उक्त प्रतियोगितामा नगरपालिका भित्रका सात बिद्यालयका १२ टिमको सहभागीता रहेको थियो ।
दिवसकै अवसरमा लायन्स क्लब अफ गोरखा र लायन्स क्लब अफ गोरखा कालिकाको संयुक्त आयोजनामा दीप प्रज्वलन कार्यक्रम भएको छ । गोरखा सदरमुकामको पँदेलीस्थित रानीपोखरी (पुष्करतीर्थ) परिसरमा वुधवार साँझ दीप प्रज्वलन गरिएको हो ।
त्यस्तै गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो चोकमा पनि दीप प्रज्वलन गरिएको छ । लायन्स क्लब अफ गोरखा तारानगर र लियो क्लब अफ गोरखा तारानगरको संयुक्त आयोजनामा वुधवार साँझ दीप प्रज्वलन गरिएको हो ।




