| बुधबार, कार्तिक २५, २०८३

शिक्षा दिवसको अवसरमा गोरखाका १९ जनालाई विद्याभूषणको घोषणा

गोरखाका १९ जनालाई नेपाल विद्याभुषण प्रदान गर्ने घोषणा गरिएको छ । शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा मंगलवार विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको हो ।

जसअन्तरगत गोरखाका १८ जना नेपाल विद्याभूषण ‘क’ र एक जना नेपाल विद्याभूषण ‘ख’ बाट बिभूषित हुने सूचनामा उल्लेख छ । नेपाल विद्याभूषण ‘क’ बाट बिभूषित हुनेमा नारायणबाबु धिताल (चाओयाङ्ग युनिभर्सिटी अफ टेक्नोलोजी, चीनबाट बायोकेमिकल साइन्स एण्ड टेक्नोलोजी विषयमा विद्यावारिधि), बद्री पौडेल (मेवार विश्वविद्यालय, भारतबाट समाजशास्त्रमा विषयमा विद्यावारिधि), हरिमाया शर्मा (त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी शिक्षा विषयमा विद्यावारिधि), हरिशरण अधिकारी (त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्र विषयमा विद्यावारिधि) र होमबहादुर बानियाँ (काठमाडौ विश्वविद्यालयबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि) रहेका छन् ।

त्यस्तै हिकमतबहादुर खत्री (त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा विद्यावारिधि), विनोद बानियाँ (युनिर्भसिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस, चीनबाट फिजिकल जोग्राफी विषयमा विद्यावारिधि), कमलराज देवकोटा (त्रिभुवन विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि), सुरेन्द्रप्रसाद भट्ट (नेपाल संस्कृति विश्वविद्यालयबाट अंग्रेजी विषयमा विद्यावारिधि), अम्बिका अर्याल (त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा विद्यावारिधि) र प्रभात खकुराल (त्रिभुवन विश्वविद्यालयबाट कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी विषयमा चिकित्साशास्त्र विद्यावारिधि) पनि बिभूषित हुने भएका छन् ।

श्रीकृष्ण वाग्ले (नेपाल काठमाडौ विश्वविद्यालयबाट शैक्षिक नेतृत्व विषयमा विद्यावारिधि), सुदीप पाण्डे (युनिभर्सिटी अफ पादोभा, इटालीबाट वातावरण विज्ञान विषयमा विद्यावारिधि), गणेश पन्त (साउदर्न क्वीन्सल्याण्ड विश्वविद्यालय, अष्टे«लियाबाट वातावरण व्यवस्थापन विषयमा विद्यावारिधि), सरन लामिछाने (त्रिभुवन विश्वविद्यालयबाट भौतिक शास्त्र विषयमा विद्यावारिधि), बाबुराम दवाडी (त्रिभुवन विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ्ग विषयमा विद्यावारिधि), दुर्गाभक्त पोखरेल (युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी, चीनबाट पदार्थ विज्ञान तथा इन्जिनियरिङ्ग विषयमा विद्यावारिधि) र आइत विश्वकर्मा (त्रिभुवन विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि) पनि बिभूषित हुने बताइएको छ । नेपाल विद्याभूषण ‘ख’ बाट विभूषित हुनेमा गोरखाका रिस्ता श्रेष्ठ (त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा व्यवस्थापन संकाय अन्तर्गत उच्चतम तहको ग्रेड प्वाइन्ट प्राप्त गरी प्रथम) रहेका छन् ।

राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर सरकारले बिभूषित हुने गोरखाका १९ जना सहित देशभरका ९६३ जनाको नामावली सार्वजनिक गरेको हो । जसमध्ये ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिंदैछ । ७९० जनालाई नेपाल विद्याभूषण ‘क’, ७१ जनालाई ‘ख’ र ४४ जनालाई ‘ग’ प्रदान गरिनेछ । त्यस्तै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ ।

जसमा नेपाल छात्रा विद्यापदक ‘क’, २८ जनालाई ‘ख’ र १८ जनालाई ‘ग’ प्रदान गरिने छ । यस्तै ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको होे ।

प्रतिक्रिया दिनुहोस्