| बुधबार, कार्तिक २५, २०८३

अनुमति बिना स्वचालित आरा मेसिन प्रयोग गरी काठ कटान गरे कारवाही हुने

अनुमतिबेगर स्वचालित आरा मेसिन प्रयोग गरेर काठ कटान नगर्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयमा सूचीकृत गराई अनुमति लिएर मात्र मेसिन प्रयोग गर्न कार्यालयले आग्रह गरेको हो ।

‘वन नियमावली २०७९ को नियम २७ (६) बमोजिम जिल्लामा स्वचालित आरा मेसिनहरु डिभिजन वन कार्यालय गोरखामा सूचीकृत गराई अनुमति प्राप्त गरी मात्र काठ कटानको लागि प्रयोग गर्नका लागि अनुरोध छ,’ कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । अनुमतिबेगर मेसिनहरु संचालन गरी वन पैदवार संकलन गरेको पाइएमा वन ऐन अनुसार कारवाही गरिने कार्यालयले चेतावनी दिएको छ ।

कार्यालयले जिल्लामा दर्ता भएका सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूहहरुलाई आफ्नो आर्थिक कारोवार संचालनका लागि सम्बन्धित निकायबाट स्थायी लेखा नम्वर प्राप्त गरेर मात्र कारोवार गर्न आग्रह समेत गरेको छ ।

गत आर्थिक बर्ष २०७९÷८० को लेखा परिक्षण प्रतिवेदन र बार्षिक प्रतिवेदन असोज मसान्तभित्र पेश गर्न समेत कार्यालयले वन उपभोक्ता समूहहरुलाई आग्रह गरेको छ । ‘बर्षभरि गरेको क्रियाकलाप सहितको लेखापरीक्षण तथा बार्षिक प्रतिवेदन प्रत्येक आव समाप्त भएको तीन महिनाभित्र डिभिजन वन कार्यालय र सम्बन्धित स्थानीय तहमा बुझाउनुपर्ने प्रावधान छ, त्यसैले गत आवको प्रतिवेदन यही असोजमसान्तभित्र बुझाउन भनेका हौ,’ कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने ।

टाँचा दर्ता नगरेका सामुदायिक वन उपभोक्ता समूहलाई कार्यालयबाट टाँचाको नमूना प्राप्त गरी टाँचा दर्ता गराउन समेत कार्यालयले आग्रह गरेको छ । टाँचा नलगाई समूहको काठ संकलन तथा बिक्री वितरण गरेको पाइएमा वन ऐन बमोजिम कारवाही गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्