
उत्तरी गोरखामा विओपी स्थापनामा ढिलाइ नगर्न भन्दै गृहमन्त्रीको ध्यानाकर्षण
उत्तरी गोरखामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) स्थापना कार्य छिटै अगाडि बढाइदिन भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराइएको छ ।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा सहितको जनप्रतिनिधि टोलीले मंगलबार गृहमन्त्री श्रेष्ठसँग भेटघाट गरी सो बिषयमा ध्यानाकर्षण गराएका हुन् ।
चीनसँग सिमा जोडिएको उत्तरी गोरखाको साम्दो र छेकम्पारमा विओपी स्थापना गर्ने भनिएको छ । स्थापनाको कार्यमा ढिलाइ नगर्न भन्दै गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको पालिका अध्यक्ष निमा लामाले बताए ।
सो क्षेत्रमा विओपी स्थापना भएमा सिमा सुरक्षासँगै विपदको समयमा उद्धार र पर्यटक एवं स्थानीयको सुरक्षा समेत हुने उनको भनाइ छ । अवैध वस्तुको ओसार पसार समेत नियन्त्रण हुने उनले अपेक्षा गरेका छन् ।
गृहमन्त्रीसंगको भेटमा गाउँपालिकामा हालसम्म कायम रहेको निषेधित क्षेत्र खुल्ला गरिदिन समेत माग गरिएको उनले बताए ।




