| बुधबार, कार्तिक २५, २०८३

गोरखामा जबर्जस्ती करणीका १३ मुद्दामा तीनजनालाई सफाइ

गत साउनयता गोरखा जिल्ला अदालतमा १३ वटा मुद्दा रहेका छन् । तिनीहरुमध्य पाँचवटा साउनयता दर्ता भएका हुन् भने आठवटा साउन अघिका हुन् ।

१३ वटामुद्दामध्य पाँचवटाको फैसला भएका छन् । आठ वटाको फैसला हुन बाँकी रहेको स्रेस्तेदार मदनराज भट्टराईले जानकारी दिए । फैसला भएका पाँचवटा मुद्दामध्य तीनवटा मुद्दाका प्रतिवादीले सफाइ पाएका छन् ।

पालुङटार नगरपालिका आँपपिपलका टेकबहादुर रानालाई अदालतले सफाइ दिएको हो । गत साउन ३१ गतेको इजलासले उनलाई सफाइ दिएको हो । उनीविरुद्ध गत साउन चारगते जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो । उनले अदालतबाट सफाइ पाएका स्रेस्तेदार भट्टराईले जानकारी दिए ।

त्यस्तै सिरानचोक गाउँपालिका ४ का सौरभ कुमाललाई पनि अदालतले सफाइ दिएको छ । गत साउन २९ को इजलासले उनलाई सफाइ दिएको हो । १९ बर्षीय कुमालविरुद्ध गत असार १२ गते जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता भएको थियो । १३ बर्षीया नाबालिकालाई बलात्कार प्रयास गरेकोे आरोपमा उनी पक्राउ परेका थिए । उनलाई सफाइ दिएको अदालतले जनाएको छ ।

त्यस्तै गोरखा नगरपालिका १० वीरेन्चोकका नवीन घिमिरेलाई पनि अदालतले सफाइ दिएको छ । साउन ३ गतेको इजलासले उनलाई सफाइ दिएको हो । उनीविरुद्ध गत असार १ गते जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो । २५ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका ३० वर्षीय घिमिरेका सम्वन्धमा अदालतले यस्तो फैसला गरेको स्रेस्तेदार भट्टराईले जानकारी दिए ।

त्यस्तै अदालतले सुनील गुरुङविरुद्ध लागेको जबर्जस्ती करणीको मुद्दाको पनि फैसला गरेको छ । गत भदौ ११ गते इजलासले आंशिक दावी पुग्ने फैसला गरेको थियो । गुरुङलाई प्रहरीले जबर्जस्ती करणीको आरोपमा गोरखा नगरपालिका ६ गोरखा दरबार आसपासको क्षेत्रबाट पक्राउ गरेको थियो ।

त्यस्तै जबर्जस्ती करणीको मुद्दा खेपिरहेका रमेशप्रसाद पोखरेलको मुद्दा पनि अदालतले फैसला गरेको छ । गत भदौ ६ गतेको इजलासले उनी विरुद्ध परेको जबरजस्तीकरणी मुद्दा लाई बाल यौन दुरुपयोग मुद्दामा परिवर्तन गरी फैसला गरेको हो । स्कूलबाट फर्किरहेकी बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा आँपपिपलका पोखरेल पक्राउ परेका थिए । अन्य आठ जनाको भने मुद्दा चालु छ । यसका मध्ये नरेश तामाङ धरौटीमा रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्