
नदीमा करेन्ट लगाएर माछा मार्ने चारजना पक्राउ
पालुङ्टार नगरपालिका–१ भैँसेटारस्थित दरौँदी नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ परेका छन् ।
सहिदलखन गाउँपालिका–७ बुङकोका २५ वर्षीय रामबहादुर आले, गण्डकी गााउँपालिका–६ का २८ वर्षीय पदमबहादुर थापा र तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय मनोज कुमाल र २४ वर्षीय प्रदिप अर्याल पक्राउ परेका हुन् ।
सोमबार विहान मझुवा प्रहरी चौकीबाट खटिएको टोलीले नदीमा ब्याट्री मार्फत करेन्ट प्रवाह गरी माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको थियो । उनीहरुको साथबाट माछा मार्न प्रयोग भएको एक थान ब्याट्रीसमेत बरामद गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
‘उनीहरुलाई सम्झाई बुझाइ गर्दा उल्टै डिउटीमा खटिएका प्रहरीहरुलाई नै गाली गलौजा तथा धाक धम्की दिएपछि हामीले पक्राउ गरेर ल्याएका हौ,’ उनले भने । उनीहरुविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।




