
रातोप्लेटको गाडीले भाडाका यात्रु बोकेको विरोधमा यातायात व्यवसायी सडकमा
निजी नंबरप्लेटको गाडीले भाडाका यात्रु बोक्न थालेपछि यातायात व्यवसायीहरु विरोधमा उत्रिएका छन् । निजी गाडीले नियम विपरीत यात्रु बोक्ने गरेको भन्दै जिल्लामा रहेका यातायात प्रालिहरुले निगरानी बढाएका छन् । अभियान नै संचालन गरेर उनीहरुले यात्रु बोक्ने रातो प्लेटका सवारीलाई नियन्त्रणमा लिएर ट्राफिकलाई बुझाउने गरेका छन् ।
‘शुक्रवारबाट अभियान शुरु गरेका हौ,’ गोरखा मनकामना यातायात प्रालिका अध्यक्ष अमृत लामिछानेले भने, ‘आजसम्म दुई वटा बोलेरोलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझायौ, बृद्धबृद्धा बोकेर आएकोलाई भने सम्झाएर पठाउने गरेका छौ ।’
सवारी नियम उल्लघंन गर्दै रातो प्लेटका सवारीले यात्रु बोक्दा पनि ट्राफिक प्रहरीले कारवाहीमा चासो नदिएको उनको आरोप छ । ‘रातो प्लेटका सवारीले महँगो भाडा लिएर यात्रु बोक्ने, यात्रुलाई गन्तव्यमा नपु¥याउने गरेका छन् भनेर हामीले प्रहरीलाई पनि भन्यौ, तर उहाँहरुले पनि खासै चासो नदिएपछि हामी व्यवसायीहरु नै सडकमा उत्रिएका हौँ ।’
यातायातको नियमावली अनुसार रातो प्लेटका नीजि सवारीले भाडाको यात्रु बोक्न नपाउने प्रावधान रहेपनि उनीहरुले अटेर गर्दै आएको उनले बताए । सबैभन्दा बढी सौरपानीबाट गोरखा आउने बोलेरोले यात्रु बोक्ने गरेको उनको भनाइ छ ।
यस्ता कार्यको अन्त्य नभएसम्म अभियान जारी रहने बताइएको छ । अभियान संचालनका लागि नवराज थापाको संयोजकत्वमा १९ सदस्यीय समिति पनि बनेको छ । अभियानमा गोरखा दरौदी यातायात सेवा प्रालि र पृथ्वी यातायात प्रालिले पनि साथ दिएका छन् । य
ता जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियम विपरित यात्रु बोक्ने रातो प्लेटका सवारी साधनलाई कारवाही भइरहेको जनाएको छ । ‘हामीले चेकजाँचमा पनि कडाई गरेका छौँ, हामीले देखेसम्म कारवाही पनि गरेका छौँ,’ जिल्ला ट्राफिक इन्चार्ज वेदनाथ भण्डारीले भने । साउन महिना यता मात्र ३२ वटा नीजि सवारीलाई कारवाही गरी जरिवाना वापत ४२ हजार राजश्व संकलन गरिएको उनले बताए ।




