
गोरखा जेसीजको ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
गोरखा जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन आइतवार ट्राफिक जनचेतनामुलक कार्यक्रम भएको छ । जिल्ला सदरमुकामको पुरानो बसपार्कमा भएको कार्यक्रममा ट्राफिक प्रहरीले यात्रु र चालकहरुलाई ट्राफिक नियमबारे जानकारी गराएको थियो ।
उनीहरुले सवारीमा यात्रा गर्दा यात्रुले पालना गर्नुपर्ने नियम र सवारी चलाउँदा चालकले पालना गर्नुपर्ने नियमबारे पनि जानकारी गराएका थिए । कार्यक्रममा ट्राफिक नियम पालना गर्न, सवारीसाधनको अवस्था बारे पूर्व जानकारी राख्न, तोकिएको निश्चित स्थानमा मात्र विद्यार्थी चढाउने र ओराल्न र तिव्र गतिमा सवारी नचलाउन चालकहरुलाई अनुरोध समेत गरिएको थियो ।
कार्यक्रमकै अवसरमा ‘सवारी नियम पालना गरौ’ भन्ने नारा अंकित स्टिकर सवारीहरुमा टाँस समेत गरिएको गोरखा जेसीजका कार्यकारीणी उपाध्यक्ष तथा मुल संयोजक सुजित श्रेष्ठले बताए । कार्यक्रम प्रहरी प्रमुख अनुपम श्रेष्ठले ट्राफिक नियम पालना बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
ट्राफिक जनेचतनामुलक कार्यक्रमका संयोजक प्रमोदजंग कुँवरले कार्यक्रममा सहभागिहरुलाई धन्यवाद सहित मन्तव्य राखेका थिए ।
जेसीज गोरखाका अध्यक्ष पुष्कर गुरुङको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अनुपम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख बेदनाथ भण्डारी, गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायणखत्री लगायतको उपस्थिती रहेको थियो ।




