| बुधबार, कार्तिक २५, २०८३

यो चार बर्षमा पनि गोरखाको विकास नभए बिडम्बना हुनेछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो बाँकी चारबर्षे कार्यकालमा गोरखाको विकासले छलाङ मार्ने बताएका छन् । शनिबार गोरखाको सिरानचोक गाउँपालिको चित्रेपोखरीमा आयोजित जनप्रतिनिधि तथा स्थानीयबासीसंगको भेटघाट कार्यक्रममा बोल्दै उनले चुनावअघि आफूले मतदातासामु व्यक्त गरेको प्रतिवद्धता चारबर्षभित्र पूरा गर्ने बताएका हुन् ।

‘चुनावी सभाहरुमा मैले संघ सरकारको नेतृत्व पनि गोरखाले गर्ने, प्रदेश सरकारको नेतृत्व पनि गोरखाले गर्ने सम्भावना छ भनेर संकेत गरेको थिएँ । त्यो पूरा भएको छ’, उनले भने, ‘अहिले संघ र प्रदेश दुवै सरकारको नेतृत्व गोरखाले गरेको छ । यस्तो मौकामा यो चारबर्षभित्र पनि गोरखाको विकास भएन भने बिडम्बना हुनेछ । अब त्यतिबेला गोरखाको धुलेबाटो स्तरोन्नति गर्नेलगायतका प्रतिवद्धता गरेको थिएँ । त्यो पनि पूरा गर्नेछु ।’

सो कार्यक्रममा बोल्दै उनले अमेरिकामा हुने राष्ट्रसंघको महासभामा नेपालको कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न सहयोग गर्न अपिल गर्ने योजना बनाएको बताएका छन् । आफू अल्प विकसित मुलुकहरुको संगठन एलडिसीको अध्यक्ष भएकाले अल्प विकसित मुलुकहरुलाई सहयोग गर्न अपिल गर्ने बताएका छन् ।

‘म केही दिनमा न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदैछु । म त्यहाँ नेपालको कृषि क्षेत्रको सुधारका लागि र नेपालमा हुने जलवायु परिवर्तनबाट हुने असर कम गर्न सघाउन विकसित मुलकहरुलाई आग्रह गर्नेछु’, उनले भने, ‘नेपाल अहिले गरिब मुलुकहरुको नाइके हो । म अल्पविकसित मुलुकहरुको संस्था एलडिसीको अध्यक्ष पनि हुँ । अध्यक्षको हैसियतले म नेपाल र नेपाल जस्ता अल्पविकसित मुलुकहरुको आर्थिक विकास र संवृद्धिका लागि आव्हान गर्नेछु ।’

अमेरिकाबाट फर्केपछि चाइना जाने र नेपालको विकास र संवृद्धिका लागि सहयोग गर्न चाइनालाई अपिल गर्ने बताए । ‘केही बर्षदेखि नेपाल, चीन सीमा बन्द छ ।

गोरखाको पनि रुइला नाका, किमाथांका नाका, हिल्सा नाका खुलाउन अनुरोध गर्नेछु । कोरोला नाकाभन्दा पारि चीनतर्फ निकै ठूला व्यापारिक संरचनाहरु छन् । नेपालतर्फ पनि त्यस्ता संरचनाहरु बनाउन अनुरोध गर्नेछु । रसुवागढी नाकामा क्रस बोर्डर ट्रान्समिसन लाइन बनाउन अनुरोध गर्नेछु ।’ चाइनासंग पनि विद्युत व्यापारका विषयमा वातावरण बनाउने उनले बताए ।

त्यस्तै सहिद सुरेश वाग्ले (वासु) को २४ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सदनमा पेश भएको सत्य निरुपण तथा वेपत्तासम्बन्धी विधेयक पास भएपछि सहिदको सपना पूरा हुने बताएका थिए । ‘सदनबाट त्यो छिट्टै पास हुदैछ । त्यसपछि सहिद, बेपत्ता, अपांग तथा द्वन्द्व पीडितका आफन्तहरुले कुनै न कुनै सरकारी जागिर पाउने व्यवस्था हुनेछ । त्यो विधेयकमा उल्लेख गरिएको छ । त्यस्तै सहिद, वेपत्ता, अपांग तथा द्वन्द्व पिडितका परिबारलाई राहत, परिपूरणका कार्यक्रम हुनेछन् । देशभर सहिद तथा बेपत्ताका परिबारको सम्मान हुने कार्यक्रम गरिनेछन् ।’

आफू प्रधानमन्त्री भएपछि जनयुद्धका तमाम सहिद तथा द्वन्द्व पिडितहरुको सम्मान हुने कार्यक्रम गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरे । जनयुद्ध तथा जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने, सहिद दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने, सहिद स्मृति पार्क बनाउने जस्ता काम गर्ने अवसर मिलेको भन्दै खुशी व्यक्त गरे ।
साथै उनले शनिबार सिरानचोक गाउँपालिका ४ छोप्राकमा भीमसेन स्मृति प्रतिष्ठानद्वारा नवनिर्मित युद्ध संग्रहालयको उद्घाटन पनि गरेका थिए ।

यसअघि उनले अजीरकोटको भच्चेकमा आयोजित वाइसिएल अजीरकोट गाउँ कमिटीको अधिवेशनको उद्घाटन गरेका थिए भने त्यहाँ आयोजित स्थानीयबासीसंगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्