| बुधबार, कार्तिक २५, २०८३

जिल्ला प्रशासन कार्यायल गोरखाद्वारा विद्युतीय गुनासो पेटिका सुरुवात

जिल्ला प्रशासन कार्यालय गोरखाले विद्युतीय गुनासो पेटिकाको सुरुवात गरेको छ । २० औं निजामति सेवा दिवसको अवसर पारेर शुक्रवारबाट विद्युतीय गुनासो पेटिकाको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिकमैत्री छिटोछरितो बनाउन, सेवाग्राही तथा सरोकारवालाहरुलाई आफ्ना उजुरी तथा गुनासो राख्न सहज होस् भन्ने अभिप्रायले विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरिएको उनले बताए ।

यसका साथै सूचना प्रविधीको विकाससँगै ई–गभर्नेन्सको माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री, उत्तरदायी, चुस्त र पारदर्शी बनाउन सहयोग पुग्ने उद्देश्य रहेको पनि उनले जानकारी दिए ।

गुनासो पेटिकामा जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका अन्य सरकारी तथा अर्ध सरकारी निकायहरुबाट प्रदान हुने सेवा, विकास निर्माण, सार्वजनिक सम्पत्तिको अतिक्रमण वा सुशासनको सन्दर्भमा गुनासो, उजुरी तथा सकारात्मक सुझावहरू राख्न सकिने प्रजिअ भुसालले बताए ।

उनका अनुसार क्यू आर कोड स्क्यान गरेपछि प्राप्त हुने गुगल फर्ममा गुनासो तथा सुझाव लेखेर पठाउन सकिने गरि विद्युतीय गुनासो पेटिकाको ब्यवस्था गरिएको हो ।

कार्यालयको वेवसाईट तथा फेसबुक पेजमा सार्वजनिक गरिएको क्यू आर कोड स्क्यान गरी उजुरी वा गुनासो व्यक्त गर्न सकिने छ । उक्त पेटिका सहितका सामाजिक सञ्जाल र टेलिफोनबाट प्राप्त हुने गुनासोको दैनिक रुपमा सम्बोधन गरिने प्रमुख जिल्ला अधिकारी भुसालको जानकारी दिए ।

यस गुनासो पेटिकामा आउने गुनासो तथा सुझावहरु सिधै प्रमुख जिल्ला अधिकारीको पहुँचमा मात्र रहने र उजुरीकर्ता वा गुनासोकर्ताको गोपनियताको हकलाई पूर्ण संरक्षण गरिने प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले बेभसाइट, इमेल, फेसबुक, ट्वीटर जस्ता विद्युतीय सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत यसअघि नै सेवाग्राहीको सुझाव र गुनासोबारे जानकारी लिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्