
तिब्बती सीमानाको सामागाउँमा पेमा देजोलिङ गुुम्बा निर्माण
पेमा देजोलिङ फाउण्डेशन ताइवान र पेमा देजोलिङ फाउण्डेशन मलेसियाको आर्थिक सहयोेगमा तिब्बतको सीमानामा रहेको गोरखाको अन्तिम गाउँ सामागाउँमा गुम्बा निर्माण गरिएको छ ।
चुमनुब्री गाउँपालिका १ सामागाउँमा करिब दश वर्ष लगाएर पेमा देजोलिङ गुम्बा निर्माण गरिएको हो । सो गुम्बाको लामा गुरु धिल्को छेच्जेको औतारीले एक धार्मिक समारोहको आयोजना गरी उद्घाटन गरेको फाउण्डेशन नेपालका उपाध्यक्ष खेम्पो कर्मा उर्गेनले जानकारी दिए ।

पेमा देजोलिङ फाउण्डेशनको सहयोगमा गुम्बा निर्माण भएकाले फाउण्डेशनकै नामबाट गुम्बाको नामाकरण गरिएको उपाध्यक्ष खेम्पो उर्गेनको भनाइ छ ।
२०६९ सालदेखि निर्माणको थालनी भएको सो गुम्बा निर्माणको काम २०७९ कात्तिकमा सम्पन्न भएको उनले बताए । उपाध्यक्ष खेम्पो उर्गेनका अनुसार भुकम्प र कोरोनाका कारण बीचमा ३ वर्ष जति गुम्बा निर्माणको काम रोकिएको थियो । ‘भुकम्प अघिदेखि नै काम सुरु भएको हो, भुकम्पपछि एक÷ डेढ वर्ष जति काम रोकियो’ उनले भने, ‘पछि फेरि कोरोना महामारीको कारण पनि एक÷डेढ वर्ष नै काम रोकिएर ढिला भएको हो ।’
सो गुम्बा वृद्धवृद्धा तथा धर्मगुरु लामाहरुलाई ध्यान गर्नका लागि निर्माण गरिएको फाउण्डेशनका उपाध्यक्ष उर्गेनले जानकारी दिए । गुम्बामा बस्न आउने वृद्धा तथा धर्म गुरुहरुका लागि बसोबासको समेत व्यवस्थाको तयारी गरिएको उनले बताए । अर्को वर्षदेखि यहाँ वृद्धवृद्धालाई बसोबासको व्यवस्थासहित सञ्चालनमा आउने फाउण्डेशनले जनाएको छ ।
गाँउपालिका अध्यक्ष निमा लामाको अध्यक्षतामा गुम्बाको उद्घाटन गरिएको थियो ।




