
पालुङटारबाट सालको अवैध काठ बरामद
पालुङटार नगरपालिका–९ दरौदीडाँडाबाट अवैध सालको काठ बरामद गरिएको छ । व्यक्तिको नीजि जग्गामा कटान गरेर राखेको २५ थान गोलिया सालको काठ बरामद गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
‘तीन वटा रुख काटेको रहेछ,’ कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने, ‘ठुटासहित सबै बरामद गरेका छौँ ।’ पालुङटार सवडिभिजन वन कार्यालयले बरामद गरेको उक्त काठ सोही कार्यालय परिसरमा सुरक्षित साथ राखिएको उनले जानकारी दिए ।
‘सबैभन्दा पहिले रातमाटे प्रहरी चौकीलाई सूचना प्राप्त भएछ, उहाँहरु सो स्थान पुगेपछि हामीलाई खवर गर्नुभयो । हाम्रो टोली त्यहाँ पुगेर प्रहरी र स्थानीयको रोहवरमा काठ बरामद गरेर ल्यायौँ,’ उनले भने ।
काठ काट्नेको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको पौडेलले जानकारी दिए ।




