
नावालकले मदिरा तथा धुमपानजन्य पदार्थ किनवेच गर्न नपाइने
गोरखा नगरपालिका वडा नं ३ मा विद्यार्थीसहित नावालाकले मदिरा तथा धुमपानजन्य पदार्थ किनबेचमा रोक लगाएको छ । वडा कार्यालयले गत आइतबार सूचना जारी गर्दै वडा भित्रका बालबालिकाहरुलाई मदिरा तथा धुमपानजन्य पदार्थ किनबेच गर्न निषेध गरिएको जनाएको छ ।

जारी सूचनामा वडाभित्र जुवातास खेल्न र खेलाउन पूर्ण रुपमा रोक लगाइएको जनाएको छ । त्यस्तै, साँझ ५ बजेभन्दा अगाडि मदिराजन्य पदार्थ किनवेच र सेवनमा पनि रोक लगाइएको वडाध्यक्ष चुलबहादुर कुँवरले बताए ।
वडाभित्रका सबै टोल विकास संस्थाका पदाधिकारीसहित वडा समितिको बैठकले यस्तो निर्णय गरेको कुँवरले बताए । मदिराजन्य पदार्थ बिहानैदेखि सेवन गर्ने तथा जुवातास खेल्ने, होहल्ला गर्ने जस्ता गतिविधिका कारण सामाजिक सद्भाव खल्बलिने अवस्था देखिएकाले टोल विकास संस्थाहरुको सल्लाह र सुझावका आधारमा यस्तो निर्णय गरिएको वडाध्यक्ष कुँवरको भनाइ छ ।




