| बुधबार, कार्तिक २५, २०८३

गोरखाका स्थानीय तहहरुमा मानव बेचविखनविरुद्ध समिति गठन हुने

गोरखाका स्थानीय तहहरुमा मानव बेचविखन तथा ओसारपसारविरुद्ध समिति गठन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको अध्यक्षतामा सोमबार बसेको वैठकले जिल्लाका सबै स्थानीय तहमा समिति गठन गर्ने निर्णय गरेको हो ।

मानव वेचविखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ को नियम ७ को खण्ड (ख) बमोजिम गोरखा जिल्लाका सवै स्थानीय तहमा समिति गठन गरी विविध कार्यक्रमहरु संचालन गर्ने वैठकले निर्णय गरेको हो ।

वैठकले भाद्र २० गते मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ । सो दिन जिल्ला शिक्षा तथा समन्वय ईकाइ गोरखाको समन्वयमा प्रत्येक विद्यालयका कक्षा ८ देखि माथिका विद्यार्थीहरुलाई विद्यालयका शिक्षकद्वारा एक पिरियड मानव बेचविखन तथा ओसारपसारको विषयवस्तुबारे कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, वैठकले गोरखा जिल्लास्थित सूचना प्रवाह गर्न जडित डिजिटल ड्यासबोर्डमा मानव वेचबिखन तथा ओसारपसार (नियन्त्रण) सम्बन्धी सूचना सम्प्रेषणको लागि अनुरोध गर्ने निर्णय गरेकोछ ।

साथै अभिभावक बिहिन तथा सडक बालबालिका समेतको संरक्षणका लागि गोरखा जिल्लामा रहेका अनाथालय, बाल सुधार गृह, मानव सेवा आश्रम समेतका विभिन्न संघ संस्थाहरुको अनुगमन गरी त्यस्ता संघ संस्थाहरुमा रहेका बालबालिकाहरुको फोटो सहितको लगत सामाजिक विकास कार्यालय, गोरखा मार्फत लिने निर्णय गरेको छ ।

प्रजिअको अध्यक्षतामा भएको वैठकमा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगर, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु, पत्रकार महासंघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्