| बुधबार, कार्तिक २५, २०८३

धावा, तान्द्राङतिर श्रृङ्खलावद्ध रुपमा ट्रान्सफर्मर चोरी

भीमसेन थापा गाउँपालिका ३ र ४ अन्तर्गत तान्द्राङ र धावामा विद्युत ट्रान्सफर्मर चोर्ने घटना श्रृङ्खलावद्ध रुपमा बढिरहेको छ ।

केहीदिन यता तीनवटा ट्रान्सफर्मर चोरी भएको स्थानीयले जानकारी दिएका छन् । अरुणोदय ग्रामीण विद्युत सहकारीको स्वामित्वमा रहेको एकसय केभिए क्षमताका एउटा, मेहनती ग्रामीण विद्युत सहकारी संस्थाको एकसय केभीए क्षमताको र भीमसेनथापा ७ का वडाअध्यक्ष नारायण श्रेष्ठको निजी स्वामित्वको २५ केभीए ट्रान्सफर्मर चोरी भएको हो ।

‘गत भदौ १२ गते राती ११ बजेदेखि तीनबजेभित्र बड्डाँडाको ट्रान्सफर्मर भन्दा तल राखिएको टूान्सफर्मर चोरी भएको हो’, अरुणोदय ग्रामीण विद्युती करण सहकारी संस्थाका सचिव ऋषिराम लामिछानेले भने, ‘हामीले तत्काल इप्रका आरुघाटमा खबर ग¥यौँ । इन्सपेक्टरको नेतृत्वमा एउटा टोली आएर मुचुल्का गरेर गएको थियो । हेरौँ, केही दिनभित्र, सत्य तथ्य आउला ।’ धावा र तान्द्राङका विद्युत सहकारीका पदाधिकारीहरु आइतबार जिल्ला प्रशासन कार्यालय र विद्युत प्राधिकरणको गोरखा वितरण केन्द्रमा गएर घटनाको यथासीघ्र छानबीन गर्न माग गर्दै निवेदन दिएको उनले बताए ।

भीमसेन ३ तान्द्राङको मेहनती ग्रामीण विद्युत सहकारी संस्थाका अनुसार ट्रान्सफर्मर चोरी गर्ने कुनै गिरोह हुनसक्छ । ‘हाम्रो त १५, २० दिनअघि टूान्सफर्मर बिग्रियो भनेर मर्मत गर्न लैजानका लागि दमैको मोडनेर अर्को ट्रान्सफर्मरको मुनितिर ल्याएर राखेका थियौँ । तर ममैत गर्न लैजान नपाउँदै गत भदौ १३ गते चोरी भएछ’ सो सहकारीका सचिव ज्ञानप्रसाद भट्टले भने । धावाका पिडितहरुसंग मिलेर आइतबार आफूहरु पनि गोरखा सदरमुकाम पुगेर दोषी पत्ता लगाई कारबाही गर्न निवेदन दिएर फर्केको उनले बताए ।

त्यस्तै भीमसेनथापा ७ का वडाअध्यक्ष नारायण श्रेष्ठको निजी प्रयोजनका लागि खरिद गरेको २५ केभीएको ट्रान्सफर्मर पनि धावाबाटै चोरी भएको छ ।

प्रयोगविहिन अबस्थामा रहेको आफ्नो ट्रान्सफर्मर धावाका बासिन्दाले केही समयका लागि माग गरेकाले दिएको तर त्यहीँबाटै चोरी भएको श्रेष्ठले बताए । चोरी गर्नेले ट्रान्सफर्मरको बाहिरि भाग त्यतिकै छाडेर भित्रका महंगा र महत्वपूर्ण बस्तु मात्र चोरेर लगेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्