
क्वार्ज क्रिष्टल गोरखा दरवारमा राख्ने वा संग्रहालय भन्ने बिषयमा छलफल सुरु
सतिपिपलबाट प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरवारमा राख्ने कि गोरखा संग्रहालयमा भन्ने बिषयमा केन्द्रमा छलफल सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले पुरातत्व बिभाग, गृहमन्त्रालय लगायतका निकायसँग छलफल गरेको हो ।
हस्तान्तरणको प्रक्रियाबारे पनि छलफल भएको बताइएको छ । मन्त्रालयले अनौपचारिक रुपमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालसँग पनि राय लिएको छ ।
‘मन्त्रालयका सचिवले गोरखा दरवारमा राख्दा ठिक हो की संग्रहालयमा भनेर अनौपचारिक रुपमा सोध्नुभएको थियो,’ प्रजिअ भुसालले भने, ‘धार्मिक महत्वको भनेकाले पुजाआजाका लागि दरवार परिसरमा राख्नु ठिक हुन्छ । तल संग्रहालयमा राख्यो भने पुजा गर्न पाइदैन भने, फेरि नयाँ पुस्तालाई जानकारी दिने हिसावले अध्ययन अनुसन्धानका लागि हो भने संग्रहालय राख्दा ठिक हुन्छ भनेर सुझाव दिए ।’ संग्रहालयमा राख्दा पर्यटन प्रवद्र्धनसँगै राजश्वमा पनि वृद्धि हुने सम्भावना बढि रहेको उनले बताए ।
गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिष्टल गोरखा दरवारमा राख्ने निर्णय भइसकेको छ । गत साउन ३० गतेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो । तर गोरखा दरवारमा राख्ने वा संग्रहालय भन्ने बिषयमा अझै एकीन हुन सकेको छैन । त्यसैका लागी केन्द्रिय स्तरमा छलफल शुरु भएको बताइएको छ ।




