
मुच्चोकमा भेटिएको अबैध काठ जग्गाधनीलाई फिर्ता, बरामद गरेको ट्रकलाई उन्मुक्ति
कटानी तथा निकासी पूर्जीबिना काठ काटेर ओसार्ने तयारी भएको ठूलो परिमाणको उतिसको काठ वन कार्यालयले जग्गाधनीलाई नै फिर्ता गरेको छ । विना कागजपत्र काटेर निकासी गर्न लागेको अजीरकोट गाउँपालिका ५ मुच्चोकका बाबुकाजी श्रेष्ठको काठ बिहिबार श्रेष्ठलाई नै फिर्ता गरिएको डिभिजनल वन अधिकृत अशोक श्रेष्ठले जानकारी दिए ।
यस बिषयमा अनुसन्धान गर्न वन सवडिभजन कार्यालय पालुङ्टारका वन अधिकृत अर्जुन अछामीलाई खटाएको उनले बताए ।
डिभिजन वन कार्यालय तथा सव डिभिजन वन कार्यालयलाई जानकारी नदिई तथा कुनै कागजपत्र पनि नलिई निकासी गर्न लागेको तीन ट्रक काठ वडाअध्यक्ष बिर्खध्वज गुरुङको सूचनामा गत मंगलबार भच्चेक प्रहरी चौकीले बरामद गरेको थियो ।
भच्चेक प्रहरीले ना ५ ख ३०३६, ना ५ ख ५०७६ र ना ५ ख १७३ नंबरको ट्रकमा अवैध काठ बरामद गरेको बिषयमा २४ घण्टासम्म डिभिजन वन कार्यालय, इप्रका जौबारी तथा जिप्रका गोरखामासूचना दिएको थिएन ।
बुधबार साँझ समाचार सार्वजनिक भएपछि ठेकेदारले सो बरामद भएको काठ राती अनलोड गरी बिहिबार बिहान खालि ट्रक फिर्ता पठाएको वडाअध्यक्ष गुरुङले जानकारी दिए । ‘अवैध काठसहित बरामद भएको ट्रक कसरी खालि गराएर फिर्ता भयो ? हामी जिल्ल परेका छौँ’, अध्यक्ष गुरुङले भने ।

निजी वनको उतिसलगायतका काठ व्यापारिक प्रयोजनका लागि कटान तथा निकासी गर्न निर्दिष्ट मापदण्ड पूरा गर्नुपर्ने डिभिजन वन अधिकृत श्रेष्ठको भनाइ छ । उनका अनुसार उतिस लगायत २६ प्रजातिका काठ व्यापारिक प्रयोजनका लागि काट्नुअघि जग्गा धनीले आफ्नो कुन–कुन कित्तामा रहेको कुन–कुन प्रजातिको रुख, कति परिमाणमा काट्ने हो, सोको ब्यहोरा खुलाई वन डिभिजनबाट अनुमतिका लागि वडा कार्यालयमा सिफारिस दिनुपर्ने हुन्छ । निवेदनको साथमा जग्गाको लालपूर्जाको, नागरिकताको, तिरो तिरेको रसिदको फोटोकपीसमेत पेश गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै वडा कार्यालयले कित्ता नंबर खुलाई वन कार्यालयलाई सिफारिस गरेपछि वन कार्यालय कर्मचारी खटाई सो कित्तामा रहेको ती प्रजातिका रुखको जाँचबुझ गरी सो जग्गा निजी हो वा सार्वजनिक हो भनेर अमिन प्रयोग गरी छुट्याउनुपर्छ । अमिनको सिफारिसपछि वन कार्यालयले रुखमा टाँचा लगाउँछ र कटान र कटान भएका काठ घाटगद्दी गर्न अनुमतिको पुर्जी दिन्छ । काटेर घाटगद्दी गरिसकेपछि सो ठाउँको निरीक्षण गरी सही ठहरेपछि मात्र वन कार्यालयले दरपिठसहितको छुट पुर्जीको पत्र दिनुपर्ने कानूनी व्यवस्था छ ।
‘तर कुनै पनि निकायमा जानकारी नदिई आफूखुशी रुख तहसनहस बनाएर ठूलाठूला नेताहरुको आठमा काठ ओसार्न खोजियो’, वडाअध्यक्ष गुरुङले भने, ‘काठ समातिएपछि कुनै पार्टीका नेता बाँकी रहेनन् मलाई फोन गर्न । केहीदिनदेखि फोन आएर तनाब भइरहेको छ । काठ काट्न र ओसार्न कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हो कि फोन गर्नुपर्ने हो ?’ जो सुकै नेताले फोन गरे पनि आफूले पर्वाह नगरेको उनले बताए ।




