
हुल्चुकका १३ जना भूमिहिन दलित सुकुम्बासीलाई जग्गाको निस्सा वितरण
धार्चे गाउँपालिका वडा नं १ हुल्चुकका भूमिहिन दलित सुकुम्बासीलाई निस्सा(जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण गरिएको छ । पालिकाको कर्मचारी तथा जनप्रतिनिधिसहितको टोलीले त्यहाँका घर परिबारका भूमिहिन दलित सुकुम्बासीलाई निस्सा वितरण गरिएको हो ।
वडा, पालिका हुदै भूमि आयोग गोरखाबाट सबै प्रक्रिया पूरा गरी कुनै पनि दावी विरोध नआएकाले लाभग्राही कायम गरी प्रमाणका रुपमा निस्सा वितरण गरिएको गाउँपालिकाका भूमि आयोगका फोकल पर्सन तथा प्रशासन तथा योजनना अधिकृत रुलबहादुर आलेले बताए । अव भूमि आयोग गोरखासहित नापी कार्यालयबाट प्राविधिकहरु फिल्डमा आएर नाँप जाँच गरी जग्गा वितरण गर्नका लागि प्रक्रिया अघि बढ्ने उनले बताए ।
हुल्चुक कठिन भूगोल, उब्जाउ गर्न योग्य सार्वजनिक जग्गा नभएको र धेरै पाखाभिर रहेको ठाउँमा अवस्थित छ । त्यसकारण लाभग्राहीलाई प्रदान गर्ने अन्यत्रको जग्गा पाउन कठिन भएको आलेले बताए । यसअघिदेखि घरले चर्चेको जग्गाकै लालपूर्जा त्यहाँका सुकुम्बासीहरुलाई दिने सम्भावना रहेको उनले बताए ।
उनीहरु हाल बसिरहेको जग्गालाई नापजाँज गरी उनीहरुलाई त्यसैको लालपुर्जा वितरण गर्ने सम्भावना रहेको उनको भनाइ छ । हाल उनीहरु गाउँको एउटा छेउको सार्वजनिक जग्गामा घर बनाएर बसिरहेका छन् । सो जग्गाको लालपूर्जा कसैसंग पनि नरहेको उनले बताए ।
प्राविधिकहरु आएर जग्गाको स्थिति, भूगोलको अवस्था हेरी स्थानीयहरुसँग छलफल गरी प्रक्रिया अघि बढाउने उनले बताए । अहिले बर्खामा याममा बाढी पहिरो आउने, बाटो अवरुद्ध हुने भएकाले दशैँ अगाडिबाट मात्र काम अघि बढ्ने उनले जानकारी दिए । उनका अनुसार पहाडी क्षेत्रमा एउटा परिवारमा बढीमा पाँच रोपनीसम्म जग्गा उपलब्ध गराउने व्यवस्था रहेको छ । भूमिहिन सुकुम्बासीलाई हाल बसिरहेको जग्गा रोज्ने या सार्वजनिक जग्गा रोज्ने उनीहरुलाई अधिकार रहेको उनको भनाइ छ ।
त्यस्तै गाउँपालिकाभित्रका अव्यवस्थित बसोबास भएकाहरुलाई पनि निस्सा वितरण गर्ने तयारीमा रहेको भूमि आयोगका फोकल पर्सन रुलबहादुर आलेले बताए । गाउँपालिकाभित्र अव्यवस्थित बसोबासको निवेदनको संख्या वडा नं १ मा १७ जना, ४ मा ४० जना, ५ मा ३२ जना, ६ मा १३० जना र ७ मा १२ जना रहेको उनले बताए । अव उनीहरुलाई पनि छिट्टै निस्सा वितरण गरी जग्गाको लालपुर्जा वितरणका लागि प्रक्रिया अघि बढाउने उनले बताए ।




