
मल बेच्न नसक्ने भन्दै सहकारीहरुले थमाए मेयरलाई जानकारी पत्र
नगरपालिकाको कृषि शाखाले निर्धारण गरेको दररेटमा रासयनिक मल बेच्न नसक्ने भन्दै गोरखा नगरपालिकाका १२ वटा सहकारीहरुले नगरप्रमुख कृष्ण रानालाई जानकारी पत्र थमाएका छन् । मंगलबार नगरपालिका पुगेका विभिन्न १२ वटा सहकारीका प्रमुख तथा प्रतिनिधिहरुले मेयर रानालाई जानकारीपत्र थमाएका हुन् ।
‘पछिल्लो अबस्थामा मलखाद खरिदमा मूल्यवृद्धि, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी भाडादरमा मूल्यवृद्धि, कोटा सिस्टमबाट थोरैथोरै मलको सिफारिस भई गाडीमा लोड नपुग्ने कारणबाट दोब्बर भाडा बुझाउनु पर्ने अबस्था, लोडअनलोड, घरभाडा, मल वितरकको पारिश्रमिक लगायतका व्यवस्थापन शुल्कमा पनि वृद्धि भएको कारणले मलखाद खरिदमा लागत खर्च वृद्धि भएकाले हाल त्यस कार्यालयबाट कायम भएको दररेटमा मलखाद बिक्री वितरण गर्न नसकिने ब्यहोरा जानकारीका साथ अनुरोध छ’, सो जानकारी पत्रमा भनिएको छ ।
अनुदानको रासयनिक मल बिक्रीमा किचलो भएपछि यसको लाभ कालोबजारी गर्नेहरुले लिइरहेका छन् । सहुलियतको मल थन्किएपछि किसानहरुले कालोबजारीको मल किनेर प्रयोग गर्न बाध्य भएका हुन् । व्यापारीले सेटिङमा खरिद गरी भित्र्याएको रासयनिक मल किसानहरुले बजारमा धमाधम प्रतिकिलो ६० रुपैयाँमा किनेर प्रयोग गरिरहेका हुन् ।




