| बुधबार, कार्तिक २५, २०८३

अनुदानको मल : माग एकातिर आपूर्ति अर्कातिर मागअनुसार नपाएपछि मल लिन गएनन् सहकारी

गोरखा नगरपालिका–६ मा अनुदानको मल बिक्री वितरणको अनुमति पाएको अनिता एग्रोभेट कन्सर्न प्रालिका अनुसार यो सिजनमा करिब चारसय बोरा युरिया मल आवश्यक पर्छ । तर उनको प्रालिको नाममा यो सिजन ३६ बोरा मात्र कोटा छुट्याइएको छ । साल्ट ट्रेडिङ कर्पाेरेशनबाट १६ र कृषि सामग्री कम्पनीबाट २० बोरा कोटा छुट्याइएको हो ।

किसानको माग धान्न मुश्किल हुने भन्दै उक्त प्रालि मल लिन समेत गएको छैन । ‘चार सय बोरा आवश्यक पर्ने ठाउँमा ३६ बोरा ल्याएर के गर्ने ?’ प्रश्न गर्दै प्रालिका संचालक रामशरण कोइरालाले भने, ‘त्यही पनि नगरपालिकाले निर्धारण गरेको दररेटमा हामी मल बेच्न सक्दैनौँ ।’

वडा नम्वर ७ को जनमुखी उपभोक्ता सहकारी संस्थाले पनि यो सिजनमा माग अनुसार मल पाएन । संस्थाका अध्यक्ष किशोर रेग्मीका अनुसार सो वडामा यो सिजन करिव नौ सय बोरा युरिया मल आवश्यक पर्छ । तर यो सिजनमा उक्त सहकारीको भागमा जम्मा २४ बोरा मात्र परेको छ । माग अनुसारको कोटा नपाएपछि सहकारी मल लिन समेत गएको छैन ।

‘नौसय बोरा मल चाहिने ठाउँमा २४ बोरा ल्याएर बाँड्ने हो भने किसानहरुसँग झगडा मात्र पर्छ,’ उनले भने, ‘फेरि २४ बोरा मल लिन वीरगंज वा नारायणगढ जानुपर्छ । यही दमौलीमा रहेको गोदामबाट दिएपनि हुने ।’ नगरपालिकाले कायम गरेको मलको दररेटप्रति उनले पनि असहमति जनाए । दररेट पुनरावकोलन गर्न समेत उनले माग गरे ।

वडा नम्वर १२ को दरौदी कृषि सहकारी संस्थाले पनि यो सिजनमा माग गरेजति मल पाएन । करिव २५ सय बोरा मल आवश्यक पर्ने सो संस्थाको नाममा यो सिजन २४ बोरा मात्र कोटा छ्ट्याइएको छ । किसानलाई बाँड्न नपुग्ने भएपछि उक्त सहकारी मल लिन समेत गएको छैन । संस्थाकी सचिव पुन्यकुमारी कुमालले माग अनुसार मल नपाएको गुनासो गरिन् ।

उनले भनिन्, ‘यति जाबो मल ल्याएर कसलाई बाड्ने कसलाई नबाड्ने, जहिले गाली खानुपर्छ ।’ कायम भएको दररेटप्रति पनि असन्तुष्टी जनाउँदै उनले थपिन्, ‘घाटा खाएर त्यो दररेटमा हामी मल ल्याएर बेच्न सक्दैनौ, अव नगरपालिकाले आफै वडा वडामा गएर मल वितरण गरोस् ।’

गोरखा नगरपालिकाका कृषि शाखा प्रमुख नविन अधिकारीले माग अनुसार युरिया मल प्राप्त नभएको स्वीकार गरे । ‘गत बर्षभन्दा यो बर्ष अलि धेरै आएको हो तर पनि पर्याप्त छैन,’ उनले भने । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले के आधारमा मलको कोटा छुट्याउँछ भन्नेबारे अहिलेसम्म थाहा पाउन नसकेको उनले बताए ।

‘क्षेत्रफलको आधारमा भनेपनि कसरी पठाए भन्ने थाहा पाउन सकिएन, मागभन्दा कम आउँछ,’ उनले भने । यो सिजनमा चारसय मेट्रिक टन युरिया मल माग गरिएको उनले जानकारी दिए । आइतवार पत्राचार गरेर इजाजत पाएका सहकारीलाई मल लिन आउन आग्रह समेत गरिएको उनले बताए । गोरखामा मलको डिपो भए सहज हुने उनको भनाइ छ ।

यता प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भने मलको अभाव नहुनु पर्ने बताउँछन् । ‘मैले बुझ्दा मल जतिपनि छ भनेका छन्, फेरि प्रधानमन्त्री, मुख्यमन्त्री सबैले मलको अभाव छैन भन्नुभएको छ,’ उनले भने, ‘मलको हाहाकार छैन भनेर मुख्यमन्त्री प्रधानमन्त्री बोल्ने तर यहाँ मल अभाव भयो भन्दा पालिकाले नै गलत स्टमेट गरेर पठायो कि भन्ने लाग्छ ।’

मागको एकिन गरी पालिकाले स्टमेट गरेर पठाउनुपर्ने बताउँदै उनले पालिकाकै कमजोरीका कारण मल अभाव भएको हुनसक्ने जिकिर गरे । ‘किसानलाई मल उपलब्ध गराउने अधिकार र दायित्व पालिकाकै हो, बरु कुनै व्यापारीले कालोबजारी गरेको थाहा पायौँ भने हामी कारवाहीमा उत्रिन्छौ,’ प्रजिअ भुसालले भने ।

प्रतिक्रिया दिनुहोस्