| बुधबार, कार्तिक २५, २०८३

नेपाली कांग्रेसलाई चौतर्फी घेरावन्दी गरियो : मुख्यमन्त्री पाण्डे

कांग्रेसका केन्द्रीय समेत रहेका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछिल्लो समय नेपाली कांग्रेस चौतर्फी घेरावन्दीमा परेको बताएका छन् । शनिवार नेपाली कांग्रेस पालुङटार नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तन नचाहनेहरुले कांग्रेसमाथि प्रहार गरेको बताए ।

‘चाहे २००७ सालको परिवर्तन होस् या २०४६ र २०६२÷६३ को परिवर्तन इतिहासदेखि नै नेपाली कांग्रेसले आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्दै आएको छ,’ उनले भने, ‘त्यसलाई पचाउन नसकेको ठुलो जमात छ जो अझै पनि कुनै न कुनै नामबाट राजनीतिमा आफ्नो संक्रियता खोजिरहेको छ, आफू स्थापित गर्न प्रयत्न खोजिरहेको छ, अहिलेको नेपाली कांग्रेसप्रतिको प्रहार त्यसैको अन्तिम कडी हो ।’

परिवर्तन मन नपराउने शक्तिहरु एकठाउँमा उभिएर फेरी कांग्रेस माथि प्रहार गर्ने प्रयत्न भइरहेको बताउँदै उनले थपे, ‘चाहे पुराना पार्टीको नाममा होस् चाहे अहिले खोलिएका नयाँ पार्टीको नाममा, सबैको मक्सद यो परिवर्तनलाई उल्ट्याउने नै हो ।’

कांग्रेसमाथिको प्रहार भनेको देशको परिवर्तनमाथिको प्रहार हो भन्दै उनले त्यसको रक्षा गर्नु कांग्रेसको दायित्व रहेको बताए । परिस्थितिवश उब्जेको जनताको ‘फ्रस्टेशन’ भजाएर नेतृत्वमा पुग्न खोज्ने प्रयत्न समेत भइरहेको उनले जानकारी दिए । भेलालाई सम्बोधन गर्दै उनले यस बर्ष पालुङटार नगरपालिकामा मात्रै ७८ करोडको योजना हालेको बताए ।

कांग्रेस पालुङटार सभापति बिमल ढकालको अध्यक्षता तथा मुख्यमन्त्री पाण्डेको प्रमुख अतिथ्यतामा भएको सम्मेलनमा कांगेसका केन्द्रिय सदस्य अब्दुल सतार, पार्टी जिल्ला उपसभापति इमानसिं बस्न्यात, गोरखा क्षेत्र नम्वर २ का सभापति गोविन्द गुरुङ, पूर्व मेयरहरु राजनराज पन्त, दिपक कँडेल, महिला संघ जिल्ला सभापति मनकुमारी गुरुङ, गोरखा क्षेत्र नम्वर २ प्रदेश क का पार्टी उपसभापति केदारनाथ देवकोटा, नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा गत बर्षको कार्यक्रमको समिक्षा सँगै भावी कार्यक्रमहरु समेत सार्वजनिकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्