| बुधबार, कार्तिक २५, २०८३

उत्तरी गोरखामा स्याउ टिप्ने सिजन सुरु

उत्तरी गोरखामा स्याउ टिप्ने सिजन सुरु भएको छ । चुमनुब्री ४ नामरुङमा उत्पादन गरिएको स्याउ टिप्न सुरु भएकोे स्याउ व्यवसायी लाक्पा डुण्डुप लामाले बताए । अहिले स्थानीय माग आपूर्तिका लागि मात्र स्याउ टिप्ने काम भइरहे पनि र अबको केही दिनमा काठमाडौंको बजारका लागि स्याउ टिप्ने काम सुरु हुने उनले बताए ।

‘अब केही दिनमै बगैँचाका सबै स्याउ टिप्ने काम सुरु हुन्छ । मोटर बाटो छैन । टिपेको स्याउ सबै कोल्डस्टोरमा राख्छौँ’, उनले भने, ‘अब पर्यटकहरु आउने सिजन भएको छ । मनास्लु हिमाल चढ्नका लागि आरोहीहरु हेलिकप्टरमा आउँछन् । हेलिकोप्टर फर्किदा रित्तै हुन्छन् । त्यसैमा स्याउ हालेर पठाइदिन्छौँ ।’ अहिले स्थानीयहरुलाई खुद्रामूल्य प्रतिकेजी रु ३५० रुपैयाँ र होलसेलमा २५० रुपैयाँमा विक्री भइरहेको उनले बताए ।

मोटरबाटो नभएका कारण महंगो भाडा तिरेर हेलीबाट स्याउ ढुवानी गर्न बाध्य भएको उनले बताए । ‘हेलिकोप्टरबाट ढुवानी गर्नु रहर होइन, बाध्यता हो’, उनी भन्छन्, ‘हेलिकोप्टरबाट ढुवानी गर्दा खर्च बढ्छ । उपभोक्ताले पनि केही बढि मूल्य तिर्नुपर्छ, हामी व्यवसायीलाई पनि मुनाफा केही कम हुन्छ ।’ हेलीको साँटो मोटरबाट ढुवानी गर्न पाएको भए उत्तरी गोरखाको स्याउ सस्तोमा बेच्न सकिने उनले बताए ।

लाक्पा डुण्डुप लामाले आफ्नो बगैँचालाई चुमनुब्री स्याउ नामाकरण गरेका छन् । सामुद्रिक सतहबाट २७ सय मिटर उचाइमा फलेको ‘चुमनुब्री स्याउ’ अत्यन्तै रसिलो र स्वादिलो रहेको उनले बताए । उनले भने ‘यसलाई मैले चुमनुब्री स्याउ भनेर ब्राण्डिङ गरेको छु । कुनै विषादी, रासयनिक मल प्रयोग गरेको छैन । स्याउ शुद्ध र अर्गानिक छ ।’

पूर्ण अर्गानिक भएकाले मूल्य पनि बजारका अरु स्याउको तुलनामा केही बढि नै रहेको उनको भनाइ छ । स्थानीय स्तरमा उत्पादित स्याउबाट वाइन, जुस, रक्सी, केक, जेली, जाम गरी १० प्रकारको खाद्यपदार्थ बनाउने गरिएको उनले बताए । चुमनुब्रीमा रहेको आफ्नै होटलमा सिजनका बेलामा स्याउबाट बनेको केक र वाइनको राम्रो व्यापार हुने गरेको उनले बताए । गोरखाको हिमाली क्षेत्रमा फलेको अर्गानिक स्याउलाई सरकारले नै ब्राण्डिङ गरेर बजारको व्यवस्थापन गरिदिनुपर्ने उनले बताए । चुमनुब्रीमा उत्पादन भएको स्याउ काठमाडौंसम्म पु¥याउन सकिएमा बजारको कुनै चिन्ता नभएको पनि उनले बताए ।

यहाँ उत्पादन भएको स्याउ गोरखा बजार, चितवन, काठमाडौँ लैजाने गरिएको छ । अघिल्लो वर्ष ३० हजार केजी स्याउ बिक्री गरेको उनले बताए । गतवर्ष भाटभटेनी सुपरमार्केमा मात्रै एक केजीको चारसय ९० रुपैयाँको दरले छ हजार केजी स्याउ बिक्री गरिएको उनले बताए ।

यो वर्ष अघिल्लो वर्ष भन्दा धेरै फल्ने अनुमान गरिएको र अब टिप्ने सिजन सुरु भएको उनले बताए । हाल उनको बगैँचामा १२ हजार ५ सय बोट स्याउ खेती गरिएको उनले बताए ।

लकडाउनपछि स्याउका विरुवा रोपी व्यवसायिक रुपमा स्याउ खेती तर्फलागेको उनले बताए । उनले स्याउ उत्पादन गरेर बेच्न थालेको यो तेस्रो बर्ष हो । उनले आफनो फर्ममा गोल्डेन डेलिसियस, गाला, क्वीन रेड डेलिसियस, रेड डेलिसियस र फुजी जातका स्याउ उत्पादन गर्दै आएका छन् ।

चुमनुब्री ब्राण्डको स्याउलाई विधिवत रुपमा अर्गानिक प्रमाणिकरण गरेर विदेश निर्यात गर्ने लक्ष्य रहेको उनले बताए । नेपालमा भारत, चाइना, जापान, अमेरिका, स्विटजल्याण्ड लगायका देशबाट महंगो दररेटमा स्याउ ल्याउने गरेको बताउँदै उनले स्याउ आयातलाई कम गर्न सरकारी स्तरबाट पनि सहयोग हुनुपर्ने बताए ।

त्यस्तै, चुमनुब्री गाउँपालिका २ ल्होका स्याउ व्यवसायी छिरिङ लामाको पनि अहिले स्याउ टिप्ने सिजन सुरु भएको छ । ४० रोपनी क्षेत्रफलमा फैलिएको उनको बगैँचामा पाँच हजार स्याउको बोट रोपिएको छ । अबको दुई हप्तापछि स्याउ टिप्ने काम सुरु हुने उनले बताए । उनले व्यवसायिक रुपम स्याउ उत्पादन गरेको यो पहिलो वर्ष हो ।

अहिले एउटा बोटमा ३ देखि ४ केजी स्रम्म फलेको उनले बताए । २८ सय मिटर उचाइमा फलाएको स्याउ मनास्लु आउने पर्यटक र स्थानीयरुपमा नै खपत गने योजना बनाएको छ । फार्म उत्पादन भएको स्याउको प्रतिकेजी २५० देखि ३५० सम्ममा पाइने उनको भनाइ छ । अब दुई हप्तापछि स्याउ टिप्ने सिजन सुरु हुने र सबै स्याउ कोल्ड स्टोरमा राखिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्