| बुधबार, कार्तिक २५, २०८३

नाम्रुङ र चुम्लिङबाट पनि खाद्यको चामल वितरण सुरु

स्थानीयबासीको माग र आवश्यकता महशुस गरी सरकारले यसबर्षदेखि उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङबाट पनि ढुवानी अनुदानको चामल वितरण सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चुमनुब्री गाउँपालिका ४ नाम्रुङ र वडा नं. ६ चुम्लिङमा बिक्रीकेन्द्र स्थापना गरेर सहुलियतको चामल विक्री वितरण सुरु गरेको कम्पनीले जनाएको छ ।

नुब्री उपत्यका(वडा नं. १, २ र ४)को सामागाउँ, ल्हो र प्रोकका लागि नाम्रुङबाट र चुम उपत्यका(वडा नं. ६ र ७)को चुम्चेत र छेकम्पारका लागि चुम्लिङबाट चामल विक्री गरेको कम्पनीका सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।
वडा नं. १ को जनसंख्या ५२५, वडा नं. २ मा ५१४ र वडा नं. ४ को जनसंख्या ४७३ रहेको छ । त्यस्तै वडा नं. ६ मा ८०५ र वडा नं. ७ को जनसंख्या ८१२ रहेको छ । वडा नं. ३ र वडा नं. ५ का लागि भने कम्पनीको फिलिमस्थित डिपोबाट चामल वितरण हुने गरेको छ ।

कम्पनीको गोरखा सदरमुकामस्थित कार्यालयका अनुसार गत जेठ महिनामा नाम्रुङका लागि पाँचसय क्वीण्टल स्वीकृत भएकामा ४९० क्वीण्टल विक्री वितरण गरिएको थियो भने चुम्लिङका लागि स्वीकृत पाँचसय क्वीण्टलमध्य ४२९ क्वीण्टल वितरण भएको थियो । दुवै विक्री केन्द्रका लागि यसबर्ष पनि पाँच–पाँचसय क्वीण्टल चामल स्वीकृत भएको सूचना अधिकारी सुनारले जानकारी दिए ।

नाम्रुङ, चुम्लिङमा डिपो नभएको र बिक्रीकेन्द्र मात्र भएकाले ठेकेदार वा ठेकेदारको प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको रोहोबरमा चामल विक्री हुने गरेको छ । डिपो नभएकाले त्यहाँ गोदाम नरहेको सुनारले जानकारी दिए । चामल विक्री भएपछि वडाको सिफारिसको आधारमा ठेकेदारले कम्पनीको कार्यालयबाट भुक्तानी लैजाने व्यवस्था रहेको उनले बताए ।

फिलिम डिपोबाट सामागाउँ, साम्दो तथा छुले, निलेसम्मका बासिन्दालाई चामल वितरण गर्न सम्भव नभएकाले आधाबाटो पर पर्ने ती दुई ठाउँमा विक्री केन्द्र स्थापना गरिएको हो । यसअघि स्थानीयबासीले माछाखोला डिपोसम्म बाह्रै महिना गाडी चल्न सक्ने र त्यहाँ खाद्य कम्पनीको चामल विक्री नहुने भएकाले माछाखोला हटाई आफूहरुलाई पायक पर्ने ठाउँमा डिपो कायम गरिदिन माग गरेका थिए ।

सरकारले तत्कालका लागि डिपो राख्न नसके पनि बिक्रीकेन्द्र मार्फत सेवा दिएको हो ।
यसबर्ष सिर्दिबास डिपोका लागि दुईहजार क्वीन्टल चामल स्वीकृत भएको छ । ‘जसमध्ये गोरखा शाखाबाट एकहजार र बिमलनगरबाट एकहजार क्वीन्टल चामल फिलिम डिपोका लागि स्वीकृत भएको छ’, उनले भने, ‘माछाखोला डिपोका लागि पाँचसय क्वीन्टल, चुम्लिङ विक्रीकेन्द्रका लागि पाँचसय कवीन्टल र नाम्रुङ विक्रीकेन्द्रका लागि पनि पाँचसय क्वीन्टल स्वीकृत भएको छ ।’ चामल ढुवानीका लागि कम्पनीको प्रधान कार्यालयबाट गत साउन २१ गते टेण्डर आव्हान भइसकेको र कम्पनी छनौटको चरणमा रहेको उनले बताए ।

यसअघि गत आर्थिकबर्ष सिर्दिबास डिपोका लागि तीनहजार छसय ७५ क्वीन्टल, माछाखोलाका लागि पाँचसय क्वीन्टल स्वीकृत भएको थियो । माछाखोलाका लागि भने जम्मा ६५ क्वीन्टल मात्र ढुवानी भएको कार्यालयले जनाएको छ । हाल गोरखा शाखामा ढुवानी अनुदानको चामल छसय क्वीन्टल मौज्दात रहेको कार्यालयले जनाएको छ ।

सरकारीको ढुवानी अनुदानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हिमाल पारिको चुमनुब्री गाउँपालिकाका गाउँबस्तीहरुमा चामल उपलब्ध गराउने गरेको छ । जसअनुसार गोरखा शाखामा पाइने मूल्यमा सबैभन्दा सुदूरको नाम्रुङ र चुम्लिङ बिक्री केन्द्रमा चामल पाइन्छ । कम्पनीले ती डिपो तथा बिक्रीकेन्द्रहरुमा पनि सोना मन्सुली चामल प्रतिकिलो ५६ रुपैयाँमा, स्टिम जिरा चामल प्रतिकिलो ८८ रुपैयाँमा, उपलब्ध गराउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्