| बुधबार, कार्तिक २५, २०८३

गुम्दाको आलु मेलामा मितेरी साइनो जोड्दै खेमराज र मेघराज गुरुङको जोडी ।

कहाँ हरायो मितेरी साइनो ?

सानोतिनो खोटयुक्त रीति रिवाज हराउँदा खासै कसैको चित्त काटिँदैन । तर कुनै खुनखोट नभएको रीतिथिति, चालचलनलाई नयाँ पुस्ताले मेटाइदिए भने पाका पुस्ताको मन दुखिहाल्छ ।

मित, मितिनीको साइनो मेटाइदिने नयाँ पुस्तासंग सिरानचोक १ केराबारीकी मीना गुरुङको मात्र किन, सबैको मन दुख्छ । ‘अन्त जानै परेन, मेरै कुरा गरौँ । म छ बर्षको हुँदा मेरो आमा बित्नु’भा । म अहिले अनुहार पनि सम्झन्न । तर मेरो मितिनी आमाले सँधै चाडपर्वमा डाक्नु हुन्थ्यो । म जान नपाएको बेलामा पनि दूधदही, घ्यू, फलफूल लिएर भेट्न आउनुहुन्थ्यो ।

आमा बिते पनि मितिनी आमाले आमा बिर्साइरहनु भएको छ’, गुरुङ भन्छिन्, ‘मित, मितिनी भन्ने नाता धेरै ठूलो हो । बाहाँ जोडेर लगाएको मितिनीको साइनो छोरा, नातिको पालासम्म पनि चलिरहन्छ ।’ तर अचेल मित, मितिनी लगाउने चलन हराएकामा उनमा ठूलो गुनासो छ ।

परियार, घले र गुरुङ थरका गरी उनका तीनजना मितिनी छन् । ‘एउटा मितिनी छँदाछँदै मैले अर्कोसंग पनि मितिनी लगाएँ भने मेरो दुवै मितिनीहरु महामितिनी नाता पर्छ । मितिनीको श्रीमानलाई आफूले मितज्यू भन्नुपर्छ । मितज्यूको श्रीमतीलाई अर्को मितज्यूले मितिनी भनेर बोलाउँदा कस्तो सुहाउँथ्यो’, मीना भन्छिन्, ‘हित कि मित भन्छन् । हितचित्त मिलेकोसंग त मितिनी लगाउने हो । मितिनी लगायो भने रोग काटिन्छ पनि भन्छन् । यस्तो राम्रो चलन नहराए हुन्थ्यो । किन हराएको होला ? यसलाई फेरि जगाउन हामीले त पहल गर्ने होला ।’

हराउँदै गएको मित लगाउने परम्परालाई गुम्दामा हाल चलिरहेको आलु मेलामा खेमराज र मेघराज गुरुङले सम्झाए । मान्बुका मेघराज र गुम्दाका खेमराजले मेलाको अवसर पारेर सोमबार टाउको ठोक्काएर मित लगाएका हुन् । ‘दुवैतर्फको चेलीबेटीले टीकाटाला गरी खादामाला लगाइदिए । अनि दुवैजनाले परस्पर बाहाँ जोडेर टीका लगाए, पैसा साँटासाँट गरे, अनि चेलीबेटीले तीनपटकसम्म टाउको ठोक्काइदिएर मित लगाइदिए’, सो समारोहका दर्शक सुशील गुरुङले भने, ‘दुवै पक्षका साथीभाइ रमाइलो गरी नाचगान गरे । हराइसकेको मित लगाउने चलनलाई गुम्दामा मेलामा व्युँताए । धेरै रमाइलो भयो ।’मित लगाउँदा साँटासाँट गरेको सिक्का जीवनभर सुरक्षित गरेर राख्ने चलन रहेको उनले बताए ।

अचेल मित लगाउने चलन हराउँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

तातोपानी मेलामा सबैभन्दा धेरै मित, मितिनी लगाउने परम्परा थियो । ‘मितिनी धेरै लगाउने भएर तातोपानी मेलालाई अझैसम्म पनि मितिनी मेला भनिन्छ’, धार्चे ३ का निवर्तमान वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङ भन्छन्, ‘टाढा–टाढाबाट मेला भर्न आउनेहरु ४०, ४५ जोडीले त्यो मेलामा मित, मितिनी लगाउँथे । तर अचेल त एउटा जोडीले पनि लगाउँदैनन् । चलनराम्रै हो किन हराएको होला ।’ मितेरी नाता रगतको नाता जत्तिकै पवित्र र गाढा हुने उनको भनाइ छ ।

‘मितेरी साइनो यतिसम्म गहिरो हुन्छ कि, मितबा, मितिनी आमा बिते भने मित छोराले पनि कपाल खौरेर परम्पराअनुसार काजकिरिया गर्ने अथवा जुठो बार्नुपर्छ । मितिनी दिदीबहिनीलाई टिकाटालो लगाइदिने चलन छ’, उनी भन्छन्, ‘मितको सुख आफ्नो पनि सुख, मितको दुख आफ्नो पनि सुख भन्ने परम्परा छ । यस्तो पवित्र साइनो अहिले कता हरायो, हरायो ।’

विशेषगरी जात्रा, मेलामा मित लगाउने चलन हो । ‘किनभने जात्रामा धेरै टाढाटाढाबाट मान्छेहरु मेला भर्न आउँछन् । अनि चिनजान हुन्छ । हितचित्त मिल्छ । अनि बाँचुञ्जेलसम्म नाता जोड्न मित लगाउने चलन छ’, अजीरकोट ४ सिम्जुङका यमबहादुर गुरुङ भन्छन्, ‘अरु बेलामा पनि मित लगाउने गरिन्छ । जसको नाम मिल्छ, अनुहार, जिउडाल मिल्दोजुल्दो हुन्छ, स्वभाव मिल्दोजुल्दो हुन्छ, उनीहरुको पनि मित लगाउने चलन छ । सँधै झगडा गरिरहन्छन् भने मित लगाइदियो भने मिल्छन् भनेर पनि मित लगाउने चलन छ ।’

यत्तिका गुनिलो परम्परा हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

उहिल्यै धेरै टाढाका मान्छेहरुको भेट हुन असमर्थ थियो । हिँडेर एकदुई दिनको बाटोसम्ममा मान्छेहरु भेट हुँदा सम्बन्ध सदासदाका लागि जोड्न मित लगाउने चलन रहेको उनको भनाइ छ । प्राय भेँडीगोठमा बसिरहने र औलमा बस्नेहरु सितिमिति भेट हुदैन । कथं भेट भयो भने बाँचुञ्जेल साइनो जोड्न मित लगाउने चलन रहेको गाउँका बासिन्दाको भनाइ छ ।
नयाँ पुस्ताले वास्ता नगरे पनि सबै धर्म, सबै जात, सबै बर्ग र सबै भूगोलमा बस्नेहरुका बीच जोड्न मिल्ने मितेरी साइनो हराएकामा पाका पुरानाको ठूलो गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्