
गोरखा दरौदी यातायात सेवा कम्पनीको नयाँ भवन उद्घाटन
गोरखा दरौदी यातायात कम्पनीको नयाँ भवन उद्घाटन गरिएको छ । गोरखा नगरपालिका वडा नं ९ ठिगुरेस्वाँरामा नवनिर्मित भवनको सोमबार विहान नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष श्रेष्ठले व्यवसायीहरुको हितमा निरन्तर अग्रसर भएर काम गर्नुपर्ने बताए । नवनिर्मित भवन र जग्गा गरी कुल साढे दुई करोड खर्च भएको संचालक समितिका सदस्य अन्जनबाबु खत्रीले बताए । उनका अनुसार भवनका लागि मात्र करिब एक करोड ५० लाख रुपैँया खर्च भएको उनको भनाइ छ । नवनिर्मित तीन तल्ले भवनमा ठूला हलहरु गरी आठ वटा कोठा रहेको उनले जानकारी दिए । व्यवसायीहरुको ट्रिप शुल्क र आर्थिक सहयोगबाट भवन निर्माण भएको कम्पनीले जनाएको छ ।
यातायात व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको कम्पनीले अब सोहि भवनमा यातायात सहकारी संस्था पनि संचालन गर्ने तयारी गरेको बताइएको छ ।
उक्त भवन २०७८ फागुन ६ गते गोरखा नगरपालिकाका निवर्तमान मेयर राजनराज पन्तले शिलान्यास गरेका थिए । निर्माण सुरु गरेको डेढ वर्षमा भवन निर्माण कार्य सम्पन्न भएको हो । २०५८ सालमा स्थापित गोरखा यातयात व्यवसायी समिति सात वर्षअघि दरौदी यातायात कम्पनीका रुपमा परिणत भएको थियो ।
गोरखा दरौदी यातयात सेवा कम्पनी प्रालिका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा यातायातका संस्थापक अध्यक्ष भाइचन्द्र श्रेष्ठ, सल्लाहकार नन्दलाल बगाले, देवराज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।




