| बुधबार, कार्तिक २५, २०८३

न हुरी, न बतास, न चट्याङ, गोरखाको विजुली गइरहन्छ

प्रतीक्षा आले मगर

हुरीबतास नचलेको, चट्याङ नपरेको र बाढी पहिरो नगएका बेला पनि गोरखाको विद्युत सेवा अनियमित हुने गरेको छ । बिनाजानकारी विद्युत लाइन जाने आउने समस्याले जिल्लाका विद्युत उपभोक्ता हैरान भएका छन् ।

झ्याप्प–झ्याप्प विद्युत आउने जाने समस्याले विद्युत उपकरणहरुमा समेत क्षति पुगेको उपभोक्ताहरुको गुनासो छ । साथै कार्यालयको काममा आएका सेवाग्राही पनि विद्युत अनियमितताको सिकार भएका छन् ।

‘लाइन जाने आउने टुंगो हुदैन, झ्याप्प झ्याप्प विद्युत आउने जाने गर्दा फोटोकपी मेसिन नै बिग्रियो,’ जिविसचोकमा फोटो स्टुडियो संचालन गर्दै आएकी गोमादेवी पनेरुले भनिन्, ‘लाइन जाने आउने गरिरहँदा टाढा–टाढादेखि सेवा लिन आएका कार्यालयका सेवाग्राही पनि समस्यामा परेका छन् ।’

मोवाइल पसल संचालक प्रविन उपरकोटीले पनि विद्युत अनियमित हुदाँ व्यवसाय नै चौपट भएको गुनासो गरे । उनले भने, ‘विद्युतबिना हाम्रो पसलमा केही काम हुदैन, तर विद्युतको अबस्था यस्तो छ । कुन बेला आउछ कुन बेला जान्छ थाहै हुदैन । चौपट भएको छ ।’

विद्युत अनियमितताका कारण स्वास्थ्य सेवामा असर परेको छ । यसको प्रत्यक्ष असर स्वास्थ्य सेवा लिने बिरामीहरुमा पनि परेको छ । विद्युत अनियमितताले उद्योगी व्यवसायी, विद्यालय, क्याम्पस, किसान, मजदुर लगायतको जनजीवनमा प्रभाव पारेको उनीहरुको गुनासो छ ।

यता नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले भने गोरखासम्म तानिएको विजुलीको लामो प्रसारण लाईनका कारण सिस्टममा समस्या आएको बताएको छ । ‘प्रशारण लाइन लामो छ । एउटा मात्रै सिस्टममा समस्या आयो भने धेरै ठाउँको सिस्टम प्रभावित हुन्छन्’, प्राधिकरणको गोरखा वितरण केन्द्र प्रमुख चिजबहादुर गुरुङले भने, ‘बर्खाका बेला हावा हुरीका कारण विद्युत अबरोध हुँदा सिस्टम नै बन्द गरेर काम गर्नुपर्ने भएकाले यो समस्या आएको हो ।’ सो समस्या समाधानका लागि प्राधिकरण निरन्तर लागि रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्