
चोरकाटेका तरीबहादुरको ‘माटो मोह’
जिन्दगी भरिको कमाइले काठमाडौँ उपत्यकामा घरजग्गा जोड्ने र उतै बसोबास गर्ने अधिकांशको सपना हुन्छ । त्यतिले नपुगे भएभरको पुख्र्यौली जायजेथा बेचेर पनि उपत्यका छिर्ने अहिलेको प्रवृत्ति हो ।
तर फरक देखिए तरीबहादुर प्रजापति । उनी २८ बर्षअघि भक्तपुर ठिमीको हुँदाखाँदाको घर, जग्गा, पेशा, व्यवसाय छाडे र गोरखा छिरे । हालको सिरानचोक गाउँपालिका ४ चोरकाटेमा जग्गा भाडामा लिए । जस्ताको टहरो बनाए र माटोको भाँडा बनाएर बेच्ने पुख्र्यौली पेशा सुरु गरे ।
चोरकाटे अधिकांश कुमाल समुदायको बसोबास रहेको ठाउँ हो । माटोको भाँडा बनाउने काम कुमाल समुदायको पुख्र्यौली पेशा हो, त्यसैले उनले चोरकाटे रोजेका हुन् । तीन दशक गरेको मिहिनेतले उनी यस क्षेत्रमा ‘नेवारे कुमाल’ भनेर प्रख्यात छन् ।
त्यतिबेला कुन्दुरटार, अढाइगाउँ, ११ किलोमा बसोबास गर्ने कुमाल समुदायले पनि माटाको भाँडा बनाउँथे । बाहिरबाट आएर स्थानीय व्यवसायीहरुसंग प्रतिस्पर्धा गर्नु उनलाई प्रतिकूल थियो । तर त्यतिबेला माटाको भाँडाको उपभोक्ता धेरै हुनुचाहिँ अनुकूल थियो ।
समय बित्दै जाँदा देश, विदेशबाट प्लास्टिक, रबर, आल्मुनियम, फलामका भाँडाहरु भित्रिन थाले । ‘वनसाङ्लाले घर साङ्लालाई खेद्छ’ भने झै, विदेशबाट आयातित प्लास्टिकका सामानले गाउँघरका मौलिक भाँडाकुँडालाई संकटमा पार्न थाल्यो ।
मूल्यमा सस्तो, बोक्नमा हलुका, घाम पानीले धातुलाई भन्दा सुरक्षित गर्ने, खोजेको जति संख्यामा पाइने भएकाले यिनीहरुको आगमनले माटाका भाँडाहरुको लोकप्रियता हराउँदै गयो । यसैको सिकार भए तरीबहादुर ।

कुन्दुरटार, अढाइगाउँ, ११ किलो लगायत अन्यत्रका कुमाल समुदायले माटाका भाडा बनाउन छाड्दै गए । उपभोक्ताले माटोका सामान किन्न पनि छाड्दै गए । अहिले सीमित उपभोक्ता माझ नेवारे कुमाल बनेर तरिबहादुर टिकिरहेका छन् । गोरखा जिल्लाभरमै माटाको भाँडा बनाउने अहिले उनी एक्लै बाँकी छन् ।
उमेरले ६५ डाँडा काट्यो । अब उनमा पेशा परिवर्तन गर्ने सोच पनि छैन, जोश पनि छैन । पुराना ग्राहक सम्हालेर सानोतिनो व्यापार गर्नुकै मज्जा लिइरहेका छन् । भन्छन्, ‘मेरो ब्यबहार चल्ने व्यापार भइरहेको छ, किन फेर्ने काम ?’, उनी भन्छन्, ‘दुई भाइ छोरा छन् । एउटा एयरपोर्टमा ग्रिलको काम गर्छ, अर्को वायरिङको । उनीहरुको कमाइले उनीहरुले पेट पालेको छ, मेरो कमाइले मेरो पनि चलिरहेको छ ।’ सुख दुखमा साथ दिने श्रीमती भने केहीबर्षअघि गुमाएको दुखेसो उनले सुनाए । श्रीमती गुमाएपछि दुईजनाले गर्ने काम आफू एक्लैले गर्ने गरेको उनको भनाइ छ ।
उनको कारखानाबाट उत्पादित भाँडाकुँडा गोरखा बजार, आँबुखैरेनी बजार र गोरखाका अन्य साना बजारहरुमा बिक्री हुने गरेको छ । ‘हाँडी, भुँड्को, घैँटो, गाग्रो, हुक्का, चिलिम, रक्सी पार्ने हण्डा, मानी, गमला, मकल, पाला, धुपौरो, खुत्रुके बनाउँछु’, उनी भन्छन्, ‘अरु त अलिअलि हो, हाँडीचाहिँ अचेल पनि राम्रै बिक्री हुन्छ ।’ खडेरी परेका बेला गाग्रोमा राखेको पानी चिसो हुने भएकाले गाग्रोको व्यापार राम्रो हुने उनको भनाइ छ ।
धेरै व्यवसायी नभएपछि उनलाई कच्चापदार्थ(कालीमाटी)को अभाव छैन । ‘लुदीखोलामा एउटा खानी छ । त्यहाँबाट बर्षमा एकफेर ट्याक्टरमा ओसार्छु । त्यतिले बर्षदिनलाई पुग्छ’, उनी भन्छन्, ‘एकफेर माटोको अभाव भयो । माटो खोज्दै ताकुकोटसम्म पनि पुगेँ । तर अचेल समस्या छैन ।’
अहिले उनको कारखानामा पुरानो प्रविधिको कुमालेको चक्र छैन । मोटरबाट चल्ने चक्र छ । माटो मुछ्न पनि मेसिन प्रयोग गर्ने गरेका छन् । पुख्र्यौली पेशा गरेर जीविका चलाउनेलाई प्रोत्साहन गर्न गाउँपालिका तथा कुनै पनि तहका सरकारले सहयोग गरेका छैनन् ।
‘गाउँपालिकाले अस्ति दुई महिनाको तालिम गर्दा यो घुमाउने मेसिन दिएको थियो, तर पछि त्यो मेसिन लान्छौँ भनेको छ’, उनले भने, ‘यो मेसिन पाउन पाए धेरै सजिलो हुने रहेछ । किनँ भने महंगो रहेछ ।’ पुख्र्यौली पेशा गरेर जीविका चलाउनेहरुलाई पनि सरकारले सहयोग गरे आफूहरु जस्ता निम्नस्तरका उद्यमी, व्यवसायीलाई राहत पुग्ने उनको भनाइ छ ।




