
गृहमन्त्रीले दिएको समयसीमा कट्यो, साम्दोमा बिओपी राख्ने भाका सरेको सरै
तिब्बती सीमा क्षेत्रमा पर्ने साम्दो र छेकम्पारमा बोर्डर आउटपोस्ट(बिओपी) राख्ने भाका बर्षौदेखि सर्दै आएको छ । यसअघि विभिन्न कारणले मिति सर्दै आएपनि यसपटक घरभाडाको टुंगो नलाग्दा र ढुवानी गर्ने हेलिकोप्टरको अभावले ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसपटक छेकम्पारमा बिओपी राख्ने निर्णय भएको छैन । तत्काल साम्दोमा मात्र बिओपी राख्ने भनिएकोमा हेलिकोप्टरको अभाव र घरभाडाको टुंगो नलाग्दा बिओपी स्थापना हुन सकेको छैन । साम्दोमा स्थापना हुने भनिएको बिओपीका लागि सबै तयारी पूरा भइसके पनि घरभाडाकै कारण रोकिएको छ ।
बिओपी स्थापना स्थल निरीक्षणका लागि केही दिनअघि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका टोली साम्दो पुगेका थिए । बिओपी राख्न भन्दै टोलीले साम्दोस्थित एक घर भाडामा लिने गरी घरधनीसँग मौखिक सहमति समेत गरेको थियो । तर मन्त्रालयबाट घरभाडा दिने भन्ने आधिकारिक निर्णय नआएका कारण बिओपी स्थापनाको काम अघि बढ्न सकेको छैन ।
‘सिडिओको अध्यक्षतामा जिल्ला घरभाडा निर्धारण समिति हुन्छ,’ प्रजिअ दिनेशसागर भुसालले भने, ‘बिओपी स्थापनाका लागि घर यकिन गरी भाडा निर्धारण गर्न भनेर समितिमा माथिबाट केही पेश भएर आएको छैन ।’ घरभाडा उपलब्ध गराउने बिषयको आधिकारिक निर्णय आएसँगै बिओपी स्थापना हुने उनले जानकारी दिए ।
यता सशस्त्र प्रहरी बल नेपाल नम्वर २९ गुल्म गोरखाले भने आवश्यक जनशक्ति र सामान ढुवानीका लागि हेलिकोप्टर आवश्यक पर्ने बताएको छ । ‘साम्दोमा मोटरबाटो पुगेको छैन, कम्तिमा तीन÷चार दिनको पैदल यात्रा गर्नुपर्छ,’ सशस्त्र प्रहरी बल गोरखा गुल्मका डिएसपी सुमन बोगटीले भने, ‘मान्छे मात्र जान त सहज हुन्थ्यो होला तर हातहतियार र आवश्यक सामानहरु पनि लानुपर्छ, । त्यसैले हेलिकोप्टर नभइ सम्भव छैन, त्यसकै पर्खाइमा छौँ ।’ प्रहरी निरिक्षकको कमाण्डमा २५ जनाको टोली तयारी अवस्थामा रहेको समेत उनले जानकारी दिए ।
गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिओपी स्थापनाका लागि गोरखाको साम्दो र दार्चुलाको तिङ्कर भन्ज्याङ पहिलो प्राथमिकतामा रहेको बताए । घरभाडा मन्त्रालयले तिर्ने बताउँदै उनले भने, ‘घरभाडाको केही समस्या छैन । हामी यहीँबाट तिरिदिन्छौँ । मान्छे लान पनि हेलिबाट लाने कि पैदल जाने भन्ने बिषयमा हामी बुझ्दै छौँ । हेलिबाटै लान परेपनि हामी लगिदिन्छौ त्यसमा कुनै समस्या छैन ।’ उक्त क्षेत्रमा यथाशिघ्र बिओपी स्थापना हुने उनले जानकारी गराए ।
यसअघि गोरखाका पत्रकारहसंगको भेटघाटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउनभित्रै बिओपी स्थापना गर्ने बताएका थिए । तर गृहमन्त्रीले निर्धारण गरेको समयसीमा बितिसक्दा पनि बिओपी स्थापना नभएको हो ।




