| बुधबार, कार्तिक २५, २०८३

गोरखाका सबै क्रसर उद्योग बन्द गर्ने अनुगमन समितिको निर्णय

जिल्ला अनुगमन समितिले गोरखामा सञ्चालित दर्ता तथा नवीकरण नभएका क्रसर उद्योगहरुलाई बन्द गर्ने निर्णय गरेको छ । अनुगमन समितिका प्रमुख जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले दर्ता तथा नवीकरण नभई सञ्चालित क्रसर उद्योगहरु बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि २०८० असार मसान्तभित्र सबै क्रसर उद्योगहरुले विधिवत रुपमा दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न गृहमन्त्रालयले समयावधि दिएको थियो । तर सो अवधिमा गोरखामा सञ्चालित कुनै पनि क्रसर उद्योगले दर्ता तथा नवीकरण नगरेको पाइएकाले बन्द गर्ने निर्णय बैठकले गरेको हो ।

‘ंस्थानीय तहहरुमा सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरुको २०८० असार मसान्तसम्म नविकरण भए नभएको सम्बन्धमा यस कार्यालयबाट मिति २०८०।०४।२६ मा पर्यटन तथा उद्योग कार्यालयलाई पत्राचार गरिएकोमा कुनै पनि कसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरुले उक्त मितिभित्र नविकरण नभएको जानकारी पाइयो’, सो निर्णय पुस्तिकामा लेखिएको छ, ‘त्यसैले गृहमन्त्रालको परिपत्र अनुसार २०८० आसार मसान्तसम्म दर्ता वा नविकरण नभएका सम्पूर्ण कसर उद्योग तथा बालुवा प्रशोधन उद्योगर केन्द्रहरुलाई बन्द गर्ने निर्णय गरियो ।’

तर बैठकले पन्थडिही कटहरे हर्मी साहिलीटार सडक योजना सञ्चालानार्थं नयाँ क्रसर उद्योग सञ्चालन गर्न अनुमति दिने निर्णय पनि सो बैठकले गरेको छ ।

‘कानून बमोजिमको प्रक्रिया पूरा गरी पालुङ्टार र सिरानचोक गाउँपालिकाको समन्वयमा दर्ता र स्वीकृति लिएर मात्र आवश्यक मापदण्ड तयार गरी सो आयोजन सम्पन्न आयोजनाको क्रसर उद्योग सञ्चालन पूर्व भए पश्चात स्वतः बन्द हुने गरी प्रक्रिया अघि बढाउन सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्